ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “प्रदेश एकका ३८ अलपत्र” शीर्षकको समाचार छापिएको छ । सुनसरी मोरङ पुल आयोजना खारेज हुँदा प्रदेश १ का ३८ वटा पुल अलपत्र बनेका छन् । प्रदेश एकका लिङ्करोडलाई जोड्ने पुल हेर्दै आएको आयोजना पुषबाट खारेज भएपछि पुल अलपत्र बनेको हो । सडक विभाग केन्द्रिय कार्यालय ललितपुरले आयोजना हटाएपछि निर्माणाधिन अवस्थामा रहेका पुलहरु अलपत्र बनेका छन् । सुनसरी–मोरङ पुल आयोजनाका इन्जिनियर तथा योजना प्रमुख कैलाश रौनियारलाई धरान १३ स्थित पूर्वीय पुल सेक्टर १ मा सरुवा गरेपछि आयोजना निस्कृय बनेको थियो । ‘तत्काल काम अगाडि बढाउनका लागि सडक विभागले अख्तियारी नदिएको कारण निर्माण कार्य हुन सकेको थिएन,‘–प्रमुख रौनियारले भने । आयोजना अन्तर्गतका केही पुलहरु वर्खाअघी नै सम्पन्न गर्ने तयारी गरिए पनि हाल अधिकांश पुलको काम ठप्प रहेको प्रमुख रौनियार बताउँछन् । उनी भन्छन्, ‘हामीलाई आयोजना बन्द गर्नु भनेपछि सम्बन्धित ठेकेदारलाई त्यसबारे जानकारी गराएका थियौँ । केहीले चाँही काम गरे ।’ सडक विभागले विराटनगर सडक डिभिजन कार्यालयलाई फागुन १७ गते २१ वटा पुल हेर्ने जिम्मा पूर्वीय पुल सेक्टर वान धरानलाई दिएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “गुठीको जग्गा बेच्ने ४ जना पक्राउ” शीर्षकको समाचार छापिएको छ । गुठीको नाममा रहेको सुनसरी रामधुनी वडा नं. ६ को २२ कट्ठा १० धुर जग्गा बिक्री गर्ने समुहका ४ जना पक्राउ परेका ंछन् । साविकको बक्लौरी वडा नं. ९, हालको रामध’शनी वडा नं. ६ अन्तर्गत ९ ‘ग’ कित्ता नं. २५७ र ९ ‘घ’ को १४ को १९ कट्ठा ५ धुर जग्गा बिक्री गर्ने गिरोहका ४ जनालाई इलाका प्रहरी कार्यालय पकलीले पक्राउ गरी मुद्दा चलाएको हो । गुठीको जग्गा बिक्री गर्ने गिरोहमा संलग्न भएको आरोपमा प्रहरीले धरान वडा नं. १६ का सोमबहादुर परियार, सोही ठाउँका किशोर मगर, मानबहादुर परियार र इटहरी वडा नं. २० का वकिल भन्ने अर्जुन चौधरीलाई पक्राउ गरी मुद्दा चलाइएको हो ।

त्यसैगरी आजको नागरिक दैनिकमा “एउटै गाउँमा २१ जना मोतियाविन्दुका विरामी” शीर्षकको समाचार छापिएको छ । ताप्लेजुङको एउटै गाउँमा २१ जना मोतियविनदुका विरामी फेला परेपछि नेत्र ज्योति संघ ताप्लेजुङले आखाँका विरामी खोज्न गाउँगाउँ चहार्ने भएको छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङमार्फत सञ्चालित डिचेन डोङ्ला स्मारक आखाँ उपचार केन्द्रले सिरीजङ्गा गाउँपालिका २ को आम्बेगुदिनमा सञ्चालन गरेको आखाँ परीक्षण स्वास्थ्य शिविरमा यी विरामी भेटिएका हुन् ।

यसैगरी आजको नागरिक दैनिकमा “विपन्नलाई नमुना आवास” शीर्षकको समाचार छापिएको छ । सुकुम्बासी र विपन्न परिवारका लागि विराटनगरमा नमुना आवास निर्माण गरिने भएको छ । संघीय सरकार र विराटनगरमहानगरपालिकाको संयुक्त लगानीमा विराटनगर ५ स्थित शंकरबासी चौकमा नमुना आवास निर्माण गर्न लागिएको हो । नमुना आवास गृहको सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले शिल्यानास गरेका छन् । २ विघा क्षेत्रफलमा १ सय वटा घर निर्माण गर्ने योजना छ । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तीनै तहको सरकारहरु समृद्धीको बाटोमा हिडिरहेको बताए ।

औजार : आजको औजार दैनिकमा “१२ वर्षमै राजीखुसी विहे” शीर्षकको समाचार छापिएको छ । तुलसी राई, निकेतन माध्यमिक विद्यालय ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ९ माधवपुरको कक्षा ६ को छात्रा हुन् । विद्यालयको भर्ना रजिष्ट्रर अनुसार उनको जन्म २०६३ वैशाख ५ गते भएको हो । भर्ना मिति अनुसार १२ वर्षकी उनको विवाह भइसकेको छ । गएको काक्तिक महिनामा मानेभञ्ज्याङ ८ का १७ वर्षका मिनबहादुर मगरसंग उनको विवाह भयो । विवाह हुनुअघि मिनबहादुर मगर स्कुल नजिकै माधवपुर गाउँमा रहेका मावला र तुलसी दिदिकोमा बसेर पढ्थे । उनीहरु बस्ने आफन्तको घर नजिक नजिक थियो । सुरुमा एक दुई पटक देखादेख मात्र भएको उनीहरुको भेट गाउँको धान झार्ने खेताला जाँदा भएको हो ।