काठमाडौं : वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा हेरिएको मुलुक जापानमा नेपाली कामदार पठाउने प्रक्रियाका लागि सरकारले भाषा परीक्षाको ‘कोर्स’ स्पष्ट गर्न माग गरेको छ ।

जापानी भाषा सिकाउने इन्स्टिच्युटले भाषा परीक्षाका नाममा ठगी गर्न सक्ने र कामदारलाई पनि अन्योल हुने भएकाले भाषा परीक्षाको सम्भावित कोर्स उपलब्ध गराउन सरकारले जापानसँग यस्तो आग्रह गरेको हो ।

जापानले पठाएको समझदारीको मस्यौदामा भाषा परीक्षाको चौथो तहसम्म पास हुनेलाई कामदारका रुपमा लैजाने उल्लेख छ । हाल जापान पढ्न जाने विद्यार्थीले पाचौं तहको परीक्षा पास गर्नुपर्ने व्यवस्था छ ।

जापानमा रोजगारी खुल्ने भएपछि राजधानीलगायत मुलुकभरका विभिन्न सहरमा सञ्चालित भाषा प्रशिक्षण केन्द्रमा अहिलेदेखि नै चहलपहल सुरु भइसकेको छ । यस्तो चहलपहलबीच कुनै पनि व्यक्ति ठगीमा नपरुन् भन्ने उद्देश्यले सरकारले जापानलाई कामदारका लागि भाषा परीक्षाको कोर्स स्पष्ट गर्न आग्रह गरेको हो । –राजधानी दैनिकबाट