इटहरी : पूर्वप्रधानमन्त्री तथा नेकपाकाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको तरहरामा आएर विश्वका ठूला परिवर्तन हुनु शहीदको बलिदानीले भएको बताएका छन् ।

इटहरी १९ भवानीपुरमा अवस्थित शहीद आवासीय स्मृति विद्यालयमा शहीद सप्ताह समापन तथा भवन उद्धघाटनको अवसरमा मंगलबार (आज) विहान आएका प्रचण्डले शहीदको महत्वपूर्ण योगदानकै कारण विश्व परिवर्तन भएको बताएका हुन् । ‘विश्वमा जे जति ठूला परिवर्तन भएका छन् त्यो शहीदकै कारण भएको हो,’ प्रचण्डले भने, ‘रुसको आन्दोलन होस् या अमेरिका र युरोप शहीदकै बलिदानीले त्यहाँ पनि परिवर्तन भएको हो, सबै सफलताका पिछाडि शहीदको रगत जोडिएको छ ।’
उनले बेपत्ता योद्धाको सपना पूरा गर्नका लागि आँफूहरु कुनै पनि कसुर बाँकी नराख्ने दाबी गर्दै आँफूहरुले शहीदको सपना पूरा गर्नका लागि संकल्प गरिरहेको बताए । आँफूलाई निक्कै ठूलो जिम्मेवारी रहेको बताउँदै उनले जीवन र मरणको प्रश्नमा शहीदको सपना आइरहने बताए । ‘हामी कर्तब्य पूरा गर्ने जिम्मेवारीमा छौँ,’ उनले भने, ‘आगामी दिनमा कसरी शहीदका छोराछोरीलाई लैजाने भन्ने कुरा निक्कै गम्भीर छ ।’

उनले कक्षा १२ सम्म अध्ययन गर्नका लागि पनि चुनौती रहेको र त्यसपछिका दिनहरुमा पनि झनै ठूलो चुनौती रहेकाले आँफूहरु गम्भीर रहेको बताए । ‘एम ए पढेकाहरु पनि विदेश जानुपर्ने अवस्था छ, सामान्य शिक्षा पढेकाले पनि रोजगारीका लागि विदेश जानुपर्ने अवस्था छ,’ उनले भने, ‘शिक्षा नीतिमा आमूल परिवर्तन नभएसम्म विदेश पलायन रोक्न असम्भव छ ।’ प्रचण्डले शिक्षकहरुलाई इङ्गित गर्दै सामान्य शिक्षा अध्यापन गराएकाले विदेश जानुपरेको आरोप समेत लगाए । उनले भने, ‘हामी सबैको ध्यान शिक्षामा परिवर्तन गर्नुपर्छ भन्नेतर्फ छ, हामीले रोजगारमुखी बनाउँन नै केन्द्रीत रहेका छौँ । यसलाई अन्य कुरा जस्तो सामान्य रुपमा कसैलाई नसोच्न आग्रह गर्दछु ।’ विद्यार्थीको भविष्य शुनिश्चित गर्नु आवश्यक रहेको बताउँदै उनले देशैभरी सरकारको लगानीमा ५ वटा मात्रै शहीद आवासीय विद्यालय रहेकाले यसलाई सरकारले नबिर्सिने र शिक्षा क्षेत्रमा परिवर्तन गर्नका लागि आँफूहरु तत्पर रहेको बताए । ‘मेरो आफ्नो तर्फबाट भएको पहल भनेको प्राबिधिक शिक्षा हो, यसलाई पहिलो प्राथमिकतामा राखेका छौँ’ प्रचण्डले भने ।