धरान । धरानमा जारी किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रले नवौं महाधिवेशनबाट निवार्चित समिति विघटन गरी नयाँ नेतृत्व चयनको प्रकृया शुरु गरेको छ ।

धरान–८ स्थित सभागृहमा चलिरहेको महाधिवेशनको आज चौथो दिन बिहान तिलक राई नेतृत्वको केन्द्रीय समिति विघटन गरी नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु भएको हो । बन्द सत्रले यायोक्खाका पूर्व केन्द्रीय अध्यक्ष यशोदा राईको अध्यक्षतामा ५ सदस्यीय निर्वाचन मण्डल पनि गठन गरिएको महाधिवेशन प्रतिनिधि एवं यायोक्खा सुनसरीका सचिब राजेन्द्र राईले बताए । उनका अनुसार निर्वाचन मण्डलका सदस्यहरुमा यायोक्खाका सल्लाहकारद्वय दुर्गा राई,चन्द्र विक्रम राई, पूर्व केन्द्रीय महासचिब हरि के साम्पाङ राई, पूर्व केन्द्रीय सदस्य जयकुमार राई र सहजकर्ताको रुपमा निवर्तमान अध्यक्ष तिलक राई रहेका छन् ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास

नयाँ नेतृत्व चयनको लागि प्रक्रिया अघि बढेपनि सर्वसम्मत चयन गराउने पहल भइरहेको छ । जातीय संस्था भएकोले राजनीतिक संगठनमा जस्तो विभाजित वा पद लोलुप हुन नहुने भन्दै सर्वसम्मत चयन गराउने प्रयास भइरेको छ । यसबारे आपसी छलफल भइरहेको विघटित समितिका सदस्य श्री शीशा राईले बताए । ‘सबै पदहरुमा आकाङक्षी थुप्रै देखियो, तर, हलले सर्बसम्मतरुपमा चयन गर्ने भनेको छ,’उनले भने,‘सहमति भएन भने लोकतान्त्रिक विधि अनुसार अन्तिम विकल्प त निर्वाचन नै हो । सकेसम्म सर्बसम्मत होस भन्ने सबैको चाहाना हो ।’