धरान :शनिबारदेखि धरानमा शुरु भएको किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष र कोषाध्यक्षबाहेकका पदाधिकारी तथा सदस्य पदमा धेरै आकांक्षी देखिएपछि नयाँ नेतृत्व चयनमा ढिलाई भइरहेको छ ।

फागुन १८ गते शुरु भएको तीन दिने महाधिवेशन आज चौथो दिन बितिसक्दा पनि नयाँ नेतृत्व चयन गर्न सकिरहेको छैन । जातीय संस्थामा निर्वाचन गर्नु राम्रो सन्देश नजाने भएकोले सर्वसम्मत नेतृत्व चयन गर्न सहमतिको प्रयास भइरहेको कारण ढिलाई भएको हो । अहिलेसम्म अध्यक्षमा दिवश राईको मात्र मनोनयन दर्ता भएकोले उनी सर्वसम्मत निवार्चित हुने सम्भावना छ भने कोषाध्यक्षमा पनि युवराज राईको मात्र मनोनयन दर्ता छ । दुवै पदमा औपचारिक घोषणा हुन मात्र बाँकी रहेको निवर्तमान केन्द्रीय सदस्य दोर्पध्वज राईले जानकारी दिए । ‘अध्यक्ष र कोषाध्यक्षमा एक एक जनाको मात्र मनोनयन दर्ता भएको छ, उहाँहरु लगभ सर्वसम्मत हुने सम्भावना छ, घोषणा हुन बाँकी छ,’उनले भने,'अन्य पदमा पनि सर्वसम्मत चयन गर्न छलफल, परामर्श जारी छ ।'

यसअघि, अध्यक्षमा गेन राई र जिवन हताछो राई पनि आकाङक्षीको रुपमा देखिएका थिए । तर, दुवैले अध्यक्षमा मनोनयन दर्ता गरेनन् । अध्यक्षमा एक मात्र मनोनयन दर्ता गरेका राई यसअघि उपाध्यक्ष थिए । समितिको ५ जना उपाध्यक्ष पदको लागि ८ जनाको मनोनयन परेको छ भने एक जना महासचिब एक पदका लागि दुई जनाको मनोनय दर्ता भएको प्रचार प्रसार संयोजक उपेन्द्र चाम्लिंगले जानकारी दिए । उनका अनुसार महासचिवमा धिरेन्द्र रुम्दाली र जनक राईको मनोनय परेको छ । यस्तै, उपमहासचिबमा पनि २ पदका लागि ४ जना, ५ जना सचिबको पदमा १३ जनाको मनोनय परेको छ । सहकोषाध्यक्ष दुई पदको लागि ४ जनाको मनोनयन दर्ता भएको छ । यसैगरी, सदस्यहरुमा २१ पदमा ३५ जनाको मनोनयन दर्ता भएको छ । 'सबै पदमा सर्वसम्मत गराउने प्रयास जारी छ,'उनले भने ।