ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “एकतामा आउन विप्लवलाई ओलीको आग्रह” शीर्षकको समाचार छापिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट एकतामा जुट्न अन्य दलहरुलाई आग्रह गरेका छन् । नेपालमा एउटै कम्युनिष्ट एकतामा आए उचित जिम्मेवारी दिने समेत बताए । उनले विप्लव समूहप्रति लक्षित गर्दै भने, ‘लुटमार गर्न गर्न बम पड्काएका होलान्, त्यसलाई राजनीति भनिदैन, राजनीति गर्ने हुन भने एकताका लागि आउनुपर्यो, हामी उचित जिम्मेवारी दिन तयार छौँ ।’ नेपाल कम्युनिष्ट पार्टीले झापाको सुखानीमा आयोजना गरेको शहीद सप्ताह समापन कार्यक्रममा अर्का अध्यक्ष प्रचण्डसंगै आएका ओलीले एकतामा आउन नेपाल कम्युनिष्टलाई आग्रह गरे । पार्टीले फागुन १४ गतेदेखि २१ गतेसम्म शहीद सप्ताह मनाउदै आएको छ ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “क्षमताभन्दा चौगुणा कैदी” शीर्षकको अर्को समाचार पनि छापिएको छ । जिल्ला कारागार पाँचथरको क्षमता ४० जनासम्म कैदीबन्दि राख्ने हो । तर अहिले कारागारमा एक सय ५३ जना कैदीबन्दी मुस्किलले बसेका छन् । एक सय ३६ पुरुष, १५ महिला र दुई नाबालक रहेको कारागारमा धेरैजना ििवभिन्न प्रकारका विरामी छन् । सरकारले कारागारको क्षमताअनुसार मात्र औषधी पठाउने हुदा अधिकांश विरामीको उपचारमा समस्या उत्पन्न भएको छ । कारागारमा एकजना मानसिक रोगी, एकजना मुटु रोगी, अपाङ्गता भएका एकजना र २ जना ७५ वर्षीय वृद्धसमेत कैद भुक्तान गरिरहेका छन् । एकजना मानसिक दुई वर्ष पुग्न लागेका र एक जना १७ वर्षीय गरी २ जना नाबालक पनि यही छन् । अधिकांश थुनुवाहरुमा छालामा दाद रोगको समस्या रहेको कारागारका हेल्थ असिष्टेन्ट अनुप सेढाई बताउँछन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “जनप्रतितिधि र कर्मचारीविरुद्ध उजुरी” शीर्षकको समाचार छापिएको छ । एक करोडभन्दा बढी मूल्य पर्ने सुनसरी रामधुनी वडा नं.६ मा गुठीको नाममा रहेको २२ कट्ठा १० धर जग्गा व्यतिको नाममा पारेर विक्री गर्ने गिरोहमा संलग्न भएको आरोपमा ९ जनाविरुद्ध उजुरी दर्ता भएको छ । चन्द्रशेखर महादेव गुठीको नाममा रहेको जग्गा व्यक्तिको नाममा पारेर बिक्री गर्ने समुहमा जनप्रतिनिधि, मालपोतका शाखा अधिकृत, कर्मचारीसंगै अन्य व्यक्ति विरुद्ध मुद्दा दायर गरिएको हो । साविक बक्लौरी वडा ९ हालको रामधुनी ६ अन्तर्गत ९ ‘ग’ कित्ता नं. २५७ को तीन कट्ठा पाँच धुर र ९ ‘घ’ को कित्ता नं.१४ को १९ कटठा पाँच धुर जग्गा बिक्री गर्न बैना गरपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो ।

उद्घोष् : आजको उद्घोष दैनिकमा “छोरी बलात्कारको आरोपमा पक्राउ” शीर्षकको समाचार छापिएको छ । प्रहरी र जनप्रतिनिधिले पनि थाहाँ पाएर पनि लुकाइएको छोरी बलात्कार गर्ने बाबुको कर्तुत सार्वजनिक भएको छ । मोरङ कटहरी गाउँपालिका २ संसारी टोलका एक बाबुले ८ वर्षीय छोरी बलात्कार गरेको ११ दिनपछि मंगलबार बेलुका पक्राउ परेका छन् । गत १० गते राति आफ्नै घरमा ट्याक्टर चालकको पेशा गर्ने एक बाबुले स्थानीय बोर्डिङमा कक्षा १ मा पढ्दै गरेकी छोरी बलात्कार गरेका थिए । छिमेकीका अनुसार जनप्रतिनिधि र कटहरी सीआरभी प्रहरीलाई पनि घटनाबारे जानकारी गराइएको थियो । सबै चप लागेकाले जघन्य अपराधको रुपमा रहेको बलात्कार सार्वजनिक हुन पाएनन् । सोमबार अपराह्न स्थानीयले १० अघिको घटना एक सञ्चारकर्मीलाई बताएपछि मंगलबार खोजी सुरु भएको थियो ।