पथरीशनिश्चरे: नयाँशक्ति पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नम्वर १ का संयोजक देवराज भण्डरीसहित २ सय ८ जना नेता कार्यकर्ता नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

मोरङको पथरीशनिश्चरेमा नेकपाले आज आयोजना गरेको ‘पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नवप्रवेशीहरुलाई स्वागत गर्दै एकता र सहकार्यले मात्र मुलुक समृद्ध हुने बताए । मन्त्री ढकालले नयाँशक्तिका अध्यक्ष डाक्टर बाबुराम भट्टराईको पनि अन्ततः आउने ठाउँ पुरानै घरका रुपमा रहेको नेकपा नै भएको बताए । मन्त्री ढकालले सुकुम्वासीसहितका बसोवासको समाधान गर्न सरकारले निर्माण गरेको कानून अन्तिम चरणमा पुगेको जनाउँदै पथरीशनिश्चरेमा निर्माण हुने प्रदेशकै गौरवको आदिवासी जनजातिसहितको बहुजातिय साँस्कृतिक संग्रहालयको प्रक्रिया अघि बढेको जानकारी पनि दिए ।

पार्टी प्रवेशी अगुवा देवराज भण्डारीले एकीकृत रुपमा देशको समृद्धिको अभियानमा आफुहरु एकाकार भएको धारण राखे । उनले आफुले केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईसँग समेत एकीकरणका विषयमा कुरा गरिरहेको उल्लेख गरे । आफुले नयाँशक्तिका प्रदेशका अगुवाहरुसँग कुरा गरिरहेको समेत भण्डारीको भनाई थियो । पथरीशनिश्चरे १ निवासी भण्डारी ०४२ सालदेखि ०५४ सम्म एमाले थिए भने ०५५ देखि ०७२ सम्म माओवादी पार्टीमा थिए । यस्तै, ०७२ सालदेखि देखि जनशक्ति पार्टीमा थिए । उनी माओवादीमा रहँदा जनयुद्धको बेला जनमुक्ती सेनाको बटालियन कमिसार समेत भएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा, नयाँशक्तिका केन्द्रीय परिषद सदस्य एवम् युवाका केन्द्रीय सचिव बाबुराम न्यौपाने, प्रदेश सदस्य एवम् पूर्व जनमुक्ति सेनाका मोरङ संयोजक जितबहादुर रसाइली, राज्य कमिटी सचिवालय सदस्य बासु बराल, प्रदेश सदस्य एवम् ३ नम्वर क्षेत्रीय संयोजक पर्शुराम मिश्र सहित पार्टीमा प्रवेश गरेका छन् । कार्यक्रममा संविधानसभा सदस्य चण्डीप्रसाद राई, लालबहादुर सुस्लिङ, पूर्व सांसद ऋषिकेश पोखरेल, नेकपाका केन्द्रीय सदस्य विनोद ढकाल, गोपी अछामी सहितका नेताहरुको उपस्थिती रहेको थियो ।