विर्तामोड: मेची यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) लिने स्थानमा सिसि क्यामेरा जडान गरी निगरानी बढाएको छ ।

यातायात ब्यवस्था कार्यालय मेचीले फोटो खिचाएकै दिन लिखित परीक्षा सञ्चालनको शुरुवात पनि गरेको छ भने ट्रायल सेन्टरमा सिसि क्यामेराको निगरानी पनि गर्न थालेको छ । यसले विगतमा आलोचना हुने ट्रायललाई पारदर्शी बनाउने अपेक्षा गरिएको छ । जिल्ला ट्राफिक कार्यालय झापाका सहायक प्रहरी निरीक्षक याम कुमार खड्का भन्छन्,“सिसि क्यामेरा जडान भएपछि पारदर्शिता हुन्छ, आसपासमा हुने सक्ने अपराधिक कृयाकलापमा पनि निगरानी गर्न सक्छौ ।”

ट्रायल सेन्टरमा सिसि क्यामेरा जडान भएपछि परीक्षा दिन आउने सेवाग्राहीहरु पनि खुशी भएका छन् । यसले निष्पक्षरुपमा ट्रायल हुने भन्दै सेवाग्राहीहरु पनि उत्साहित छन् । विगतमा ट्रायलमा असफल भएकाहरु पनि मिलेमतोमा उतीर्ण गराउने गरेको आरोप देशभरका यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुमाथि लाग्दै आएको थियो । मेची यातायात कार्यलय झापाका प्रमुख खरुदेव चुडाल सिसि टिभिको प्रत्यक्ष निगरानीमा ट्रालय परीक्षा हुने भएकोले विगतमा जस्तो समस्या नहुने बताउँछन् । उनी भन्छन्,“सिसि क्यामेराबाट ट्रायल परीक्षा दिने परिक्षार्थीको मात्र होइन, कर्मचारीको पनि निगरानी हुन्छ । अनियमितत, मिलेमतो हुने त कुनै सम्भवना नै छैन, ढुक्क हुनुस् ।”

यातायात ब्यवस्था कार्यालय मेचीले ट्रायल परीक्षा सेन्टरमा जडान गरिएका क्यामेराको स्टेण्डका लागि फलामका पाइपहरु प्रयोग गरिएको छ । सो ट्रायल सेन्टरमा २ लाख हाराहारी लगानी गरेर ६ वटा क्यामेरा जडान गरिएको छ । क्यामेरा सजिलै जडान गर्न र झिक्न सकिने गरी ब्यवस्थित गरिएको छ । यसले ट्रायल परीक्षा अवधि भरमात्र प्रयोगमा आउने र अन्य समयमा क्यामेरा झिकेर सुरक्षित राख्न मिल्छ ।