धरान(डेस्क): कैलाली जिल्ला अदालतले सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाए पछि राष्ट्रिय जनता पार्टी नेपाल( राजपा)ले नेकपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आज बुधवार अपराह्न बसेको अध्यक्ष मण्डलको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । उच्च प्रहरी अधिकृतसहित ८ जनाको ज्यान गएको टीकापुर घटनामा जिल्ला अदालतले चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दे आज जन्मकैद फैसला सुनाएको थियो । फैसलाको पुर्णपाठ आउन भने बाँकी नै छ । टीकापुर घटनाको मुख्य अभियुक्त भनिएका चौधरी फरार अवस्थामा नै गएको संसदीय निर्वाचनमा उम्मेदवार भएर विजयी भएका थिए । उनी राजपाका सांसद हुन् । गत पुष महिनामा कारागारमा रहेकै अवस्थामा चौधरीलाई सांसद पदको सपथ खुवाइएको थियो । सपथ लगत्तै उनलाई कारागारमा नै पठाइएको थियो । 

जिल्ला अदालतको फैसालपछि आज राजपा अध्यक्ष मण्डलको आकस्मिक बैठक बसेको थियो । बैठक पछि अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले विज्ञप्ती जारी गर्दै कैलाली क्षेत्र नं १ बाट निवार्चित सांसद चौधरीलगायत अन्यलाई अदालतले गरेको आजिवन कराबासको कैद सजायको फैसलाले मर्महात बनाएको उल्लेख छ । यस्तै, दुई तिहाई बहुमत भएर पनि संविधान संशोधन नगरेको, मधेश र थरुहट आन्दोलनका बन्दीहरुलाई रिहाई नगरेको, उनीहरु माथि लगाइएको झुटा मुद्दा फिर्ता नगरेकोलगायत आरोप लगाउदै सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहेको भन्दै समर्थन फिर्ता लिएको पनि विज्ञप्तीमा उल्लेख छ । यस्तै, राजपाले शोषण, उत्पीडन र विभेदका विरुद्धमा पहिचनावादी शक्ति र समूहलाई राजपाले मोर्चाबन्दी र सहकार्यका लागि आह्वानसमेत गरेको छ ।