फेसबुकका संस्थापक मार्क जुकरवर्गले सामाजिक संञ्जाल फेसबुकको गोपनियतामा उच्च ध्यान दिने बताएका छन् ।

उनले फेसबुकलाई सार्वजनिकबाट गोपनियता केन्द्रीत थलो बनाउन चाहेको उल्लेख गरेका छन् । फेसबुकले प्रयोगकर्ताहरुको विवरणहरु दुरुपयोग गरेको भन्दै थुप्रै प्रकरणको सामना गर्नु परेपछि उनले एक ब्लग लेख्दै यस्तो प्रतिबद्धता जनाएका हुन ।
प्रयोगकर्ताहरुको विवरण लामो समयसम्म नराखिने पनि जुकरवर्गले स्पस्ट पारेका छन् । उनले फेसबुक र इन्टाग्रामले मानिसहरुलाई आफ्ना प्रियजन, साथी र परिवारका सदस्यहरुसँग सम्पर्कमा रहन सहयोग गरेको भन्दै यसको प्रयोग गर्दा खोजिएको गोपनियताको चाहनालाई पनि आफूहरुले पूरा गर्ने प्रयासमा रहेको बताएका छन् ।
जुकरवर्गले स्पष्ट समयसीमा नखुलाइकनै आगामी केही वर्षमा त्यस्तो परिवर्तन देखिने उल्लेख गरेका छन् ।

सन् २०१८ मा फेसबुकले झण्डै ५ करोड प्रयोगकर्ताका परिष्कृत विवरणहरु एक राजनीतिक परामर्शदाता कम्पनीलाई बेचेको थाहा भएसँगै यो कम्पनी विवादमा तानिएको थियो । फेसबुकका सन्देश सेवाहरु म्यासेन्जर र ह्वाट्सएप धेरै प्रयोगकर्ता हुनेमध्येका हुन् ।