धरानः थरुहट आन्दोलनको क्रममा एक बालक, उच्च प्रहरी अधिकृतसहित ८ जनाको ज्यान गएको टीकारपुर घटनालाई कैलाली जिल्ला अदालतले राजनीतिक घटना मान्न अस्वीकार गरेको छ ।

घटनाको करिब तीन बर्ष पछि बुधबार अदालतले गरेको फैसलाको पुर्णपाठमा उक्त घटनामनसायप्रेरित, योजनाबद्ध भएको हत्या र नरसंहार भनेर व्याख्या गरिएको छ । टीकापुर घटना राजनीतिक घटना भएकोले मुख्य योजना भनिएका राजपका सांसद रेशम चौधरीलगायतलाई रिहाई गर्नुपर्ने माग पनि उठिरहेको बेला अदालतले भने राजनीतिक घटना मान्न अस्वीकार गरेको हो । बुधबार सोही घटनामा सांसद चौधरीसहित ११ जनालाई जिल्ला अदालतले जन्मकैद फैसला गरेको थियो । ‘घटनालाई तत्कालीन अवस्था हेर्दा कुनै राजनीतिक अभिष्ट नभई दंगा भड्काउने, सार्वजनिक सम्पत्तिको नास गर्ने र सो कार्यमा कसैको अवरोध सिर्जना गरे आफूसँग भएको हतियार प्रयोग गर्ने उदेश्यबाट प्रेरित भएको देखिन्छ । सोही बमोजिम दंगा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीहरूले भीड नियन्त्रण गर्न खोज्दा घरेलु हतियार प्रयोग गरी प्रहरी कर्मचारीको हत्या गरेको देखिन्छ,’फैसलामा भनिएको छ ।

फैसलामा घटनालाई मानवीय संवेदना शून्य रहेको समेत भनिएको छ। ‘‘प्रस्तुत वारदातको प्रकृति हेर्दा मानवीय संवेदना शून्य भई गरिएको व्यक्ति हत्या मात्र नभई नरसंहार थियो भन्न बाध्य तुल्याउँछ,’अदालतले व्याख्याका क्रममा भनेको छ । यस्तै, अदालतले टीकापुरमा भएको घटनालाई राजनीतिक रूपमा परिचालित नभएको पनि भनेको छ। ‘कुनै निश्चित राजनीतिक नारा नभएको, कुनै निश्चित व्यक्तिको नेतृत्वमा भएको, तर, हात हातमा घरेलु हतियार बोकेका असंयमित, अनियन्त्रित भई आवेगात्मक ढङ्गले सार्वजनिक ठाउँमा दंगा गर्नबाट सो वारतादातमा संलग्न यी प्रतिवादीहरू समेतका व्यक्तिहरू राजनीतिक रूपमा परिचालित थिएनन् भन्ने प्रस्ट हुन्छ,’फैसलामा उल्लेख छ ।

अदालतले घटनालाई मनासायप्रेरित भएको व्याख्या गरेको छ। क्षणिक आवेगमा नभई योजनामै टीकापुर काण्ड रचिएको फैसलाको पूर्णपाठमा उल्लेख छ। फैसलामा भनिएको छ ‘प्रस्तुत वारदात अचानक र तत्काल उत्तेजित भीडबाट घटित हुन पुग्यो कि भनी हेर्दा समेत घटनामा सामेल यी प्रतिवादीहरूको बयान, कागज, बुझिएका व्यक्तिहरूको कागज, भिडियो क्लिप समेतका आधारमा घटना हुनुपूर्व एक दिन अगाडिको राति स्थानीय बासिन्दाको घर घरमा गई भोली टीकापुरमा हुने कार्यक्रममा हरेक घरबाट एकरएक जना आफ्नो घरमा भएका हतियार आफूसँग लिई अनिवार्य सामेल हुन अन्यथा एक हजार जरिवाना हुनेछ भनी प्रतिवादी रेशमलाल चौधरी समेतले थारु समुदायका भलमन्सामार्फत उर्दी जारी गराउनु, सोही बमोजिम भीड जम्मा हुनु भीडलाई नियोजित ढङ्गले निर्देशन गरी सी आकारको घेराभित्र प्रहरीलाई घेराबन्दी गरी घेराबन्दीको तहगत संरचनामा अग्रपक्तिमा नाबालक, त्यसपछि महिला, त्यसपछि वृद्ध र अन्तमा हतियारधारी समूह तयार गरी आक्रमण भएकोबाट प्रस्तुत वारदात योजनाबद्ध ढङ्गले नरसंहार गर्ने गराउने मनसायसहित घटित भएको थियो भन्ने प्रमाणित भएको छ । अतः उक्त वारदातमा यी प्रतिवादी समेतले योजनाबद्ध तरिकाले मनसायसहित हत्या गरे गराएका थिए भनी निःसन्देह सिद्ध भएको छ ।’

अदालतले घटनाका समयमा प्रतिवादी घटनास्थल वरपर नै रहेको प्रहरी तथ्यलाई स्वीकार गरेको छ। मोबाइल लोकेशन तथा कल विश्लेषणका आधारमा अदालतले घटना हुँदा प्रतिवादी रेशम चौधरी लगायतका प्रतिवादी घटनास्थल वरपर रहेको निष्कर्ष फैसलामा छ । ‘यी प्रतिवादीहरू वारदात समयमा वादरतस्थल तथा सो वरपर थिए भन्ने तथ्य निजहरूले प्रयोग गरेको मोबाइल सिम कार्ड, एकापसमा फोन गर्दाको कनेक्टिभिटी, फोन टावरले देखाएको लोकेशनबाट र बिटिएस प्रतिवेदनले पनि पुष्टि गरिरहेको छ’ फैसलामा भनिएको छ ।