कपिलबस्तु: नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र उनको अन्य नेताको कपिलवस्तुस्थित शिवगढीमा रहेको घरमा प्रहरीले छापा मारेको छ।

आज बिहान नेपाल प्रहरी र सशस्त्रको टोलीले शिवराज नगरपालिका– ९ स्थित शिवगढीमा विप्लवको घरसहित अन्य घरमा पनि प्रहरीले छापा मारेको हो । प्रहरीका अनुसार विप्लव, उनका भतिज यादव चन्द र अर्का नेता दुर्गाबहादुर रोकाको घरमा प्रहरीले छापा मारेको हो । प्रहरीका अनुसार विप्लवको भतिजको घरबाट एसएमजी दुई थान, चाइनिज पेस्तोल एक थान, दुई सय राउन्ड गोलीसहित विस्फोटक पदार्थ बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार छापा मार्ने क्रममा स्थनीयबासीहरुसँग तनाव उत्पन्न भएको थियो । विदार्थीसहित स्थानीय विरोधमा उत्रिएपछि भएको सामान्य झडपमा प्रहरी जवान अमर वली र पुतली चौधरी घाइते भएको प्रहरीले जनाएको छ । घरमा छापा मनेक्रममा भाग्न खोजेपछि नेता रोकालाई प्रहरीले गोली हानेको थियो । उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गत साता धरान ६ पानवारीबाट प्रहरीले विप्लवको कोशी ब्युरो सदस्यलाई एक थान एलएमजी र एम १६ हतियारसहित पक्राउ गरेको थियो ।