विराटनगरः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र द्धन्द चर्काउने काम शेखर कोइरालाले गरेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति देउवाले कार्यक्रमहरुमा कोइरालाले जथाभावी बालेको कारण आफुले पनि त्यसको जवाफ दिएको उनको भनाई थियो । देउवाले कोइरालालाई चुनावमा उठ्नै नपाउने भनेर आफ्नो कुरा नभएको तर जथाभावी बोल्दा आफुले जवाफ मात्र दिएको जिकिर गरे ।

कोइरालालाई जथाभावी नबोल्न सम्झाउदा पनि वास्ता नगरेपछि त्यसको जवाफ दिन आफु बाध्य भएको सभापति देउवाको प्रष्टीकरण थियो । उनले भने, ‘मैले शेखरजीलाई दुई पटक त भेटेरै भने, जथाभावी नबोल्नुस न भनेर सम्झाए, तर उहाँ मान्नु भएन, रोकिनु भएन । त्यसपछि मैले पनि जवाफ दिएको हुँ ।’ देउवाले पार्टीको चौधौं महाधिवेशन समयमै हुने पनि दाबी गरे । आफ्नो कार्यकाल लम्ब्याउन नचाहेको बताउदै सभापति देउवाले अहिल्यै को सभापति हुने भन्ने बिषयमा बोल्नुको अर्थ नभएको पनि बताए ।