धरान: ‘आत्मसम्मानको आधार, सीप र स्वरोजगार’ भन्ने नाराका साथ महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले आयोजित १५ दिने टेम्पो चालक तालिम बिहिबार सकिएको छ ।

नारी स्वतन्त्र मञ्चको आयोजना तथा धरान १५ नम्बर वडा समितिको सहयोगमा महिलाहरुलाई तालिम दिइएको थियो । फागुन ५ गतेदेखि शुरु भएको तालिममा वडा नं १५ का ७ जना महिलाहरु सहभागाी थिए । आयोजक मञ्चकी अध्यक्ष विनादेबी पुमा राईका अनुसार तालिममा टेम्पो चलाउनको लागि सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । लाइसन्स प्राप्त गर्नको लागि लिखित, मौखिक तथा ट्राफिक नियमको बारेमा पनि जानकारी गराइएको अध्यक्ष राईले बताइन् ।

तालिमको सहजिकरण चुम्लुङ ड्राइभिङ सेन्टरका विकास राईले गरेका थिए । आज समापन कार्यक्रममा वडाअध्यक्ष नरेश कुमारमा इवारमले तालिममा सिकेका कुराले महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरे । सफल चालक बन्नको लागि शुभकामना समेत दिए । महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि पहिला आवश्यकता पहिचान गर्न जरुरी रहेको मञ्चकी अध्यक्ष राईले बताइन् । ‘धरानको २० वटै वडामा महिलाहरुको अवस्था के छ ? कसरी आत्मनिर्भर बनाउन सकिन्छ, त्यो पहिला पहिचान गर्नुपर्छ,’उनले भनिन्,‘स्थानीय सरकारले त्यसैअनुसार बजेट छुट्याउनु पर्छ ।’