काठमाण्डौं: नेपाल सरकारले संविधान तथा नयाँ संघीय संरचना अनुसारको प्रशासनिक नक्सा तयार गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बिहीबार पत्रकार सम्मेलन गरी नयाँ संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरिन् । सार्वजनिक गरिएको नक्सामा सात वाट प्रदेश, ती प्रदेशका सीमाना छन् भने ७७ वटा जिल्ला र त्यसको सीमाना पनि उल्लेख गरिएको छ । यसैगरि, अन्तर्राष्ट्रिय विमानस्थल, मुख्य–मुख्य नदी, खोला र ताल पनि नक्सामा उल्लेख छ ।

सबै प्रदेशको नामाकरण नभएकोले नक्सामा सबै प्रदेशको नाम उल्लेख गर्न नसकिएको पनि मन्त्री अर्यालले बताइन् । प्रदेशको राजधानी र नाम प्रतिक्षा गर्नुपर्दा नक्सा सार्वजनिक गर्न समय लागेको मन्त्री अर्यालले बताइन् । सो नक्सा सबभन्दा पहिला सिंहदरबारमा बुझाउने उनले बताइन् । त्यसपछि नेपालको प्रशासनिक नक्सालाई सबै प्रदेश र स्थानीय तहमा पनि हस्तान्तरण गर्ने मन्त्रायलले बताएको छ । प्रदेश स्तरको र ७ सय ५३ वटै स्थानीय तहको नक्सा पनि छिट्टै तयार गरी सार्वजनिक गर्ने मन्त्री अर्यालले जानकारी दिइन् ।

सार्वजनिक गरिएको नक्सा नापी विभागको वेवसाइट डिओस डट जिओभी डट एनपीमा राखिएको छ । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले विभागको वेवसाइटमा राखिएको नक्सालाई आधिकारिक मानेर प्रयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् । नापी विभाग २०१४ सालमा स्थापना भएको थियो । विभागले २०३२ सालदेखि नेपालको नक्सा तयार पारी सार्वजनिक गर्न थालेको हो ।