ताप्लेजुङ: नेकपाका युवा नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीलाई अन्य ६ जनासँगै पाथीभारा किन लगेको भन्ने प्रश्न दोहोर्याएका छन् । साथै उनले हेलि दुर्घटनाले थुप्रै आशंका उब्जाएको पनि धारणा व्यक्त गरेका छन् ।

ताप्लेजुङमा विहीबार आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै नेता भट्टराईले पुनः यस्तो आशंका व्यक्त गरेका हुन् । नेकपाले मन्त्री अधिकारी र पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा श्रद्धाञ्जलीसभा गरेको हो । यसअघि, उनले दुर्घटना भएपछि पनि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विगतमा धेरै यात्रु नलैजाने गरेकोमा मन्त्री अधिकारी चढेको ७ जना हेलिकप्टर किन पाथीभारा गएको भन्दै आशंका जनाएका थिए । बिहिबार पुनः गृहजिल्लामा आयोतिज कार्यक्रममा भटराईले सोही आशंका दोहोर्याएका थिए । ‘विगतमा पनि हेलिकप्टर दुर्घटना भएर ठूलो क्षति भएको थियो, यसपाली रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाले धेरै आशंका उब्जाएको छ,’ भटराईले भने, पाथीभरामा यसअघि कहिल्यै पनि एकै पटक एउटा हेलिकप्टरमा सात जना उडाएर लगिएको थिएन ।’

सांसद भटराईले विगतमा सुकेटार वा फुङ्लिङको आर्मीे ब्यारेकमा केही यात्रु ओरालेर मात्र हेलिकप्टर उड्ने गरेको जिकिर गर्दै भने, ‘यस पटक किन त्यसरी सातै जना लगियो ?’ घटनाबारे सरकारले छानबिन समिति गठन गरिसकेको छ । समितिले सत्यतथ्य बाहिर ल्याउनेमा आफु विश्वस्त रहेको पनि भटराईले बताए । दुर्घटनाको जोखिम सबैतिर हुने बताउदै भटराईले सावधानी अपनाउदा क्षति न्युनीकरण गर्न सकिने धारणा राखे । पाथीभरा सुरक्षित भएको सन्देश फैलाउन अन्र्तराष्ट्रियस्तरको उच्च व्यक्तित्वलाई भ्रमण गराउने पहल भइरहेको पनि उनले जानकारी दिए । भटराईले भने, ‘यो जिल्ला सुरक्षित रहेको सन्देश दिन भारतको पश्चिम बङ्गाल र सिक्किमका मुख्यमन्त्रीलाई ल्याउने पहल भइरहेको छ ।’