वासिंटन : अमेरिकाकी एक सिनेटरले आफू वायुसेनाको एक वरिष्ठ अधिकारीबाट बलात्कृत भएको खुलासा गरेकी छन् ।

वायुसेनामा कार्यरत रहँदा आफूलाई एक वरिष्ठ अधिकारीले बलात्कार गरेको भन्दै सिनेटर मार्था म्याकस्लीले खुलासा गरेकी हुन् । सेनामा यौन दुष्कर्मबारे सुनुवाइका क्रममा उनले यस्तो बताएकी हुन् । उनी युद्धमा लडाकु विमान उडाउने पहिलो अमेरिकी महिला पाइलट हुन् ।
एरिजोना रिपब्लिकन अखबारमा प्रकाशित समाचार अनुसार मार्थाले आफू बलात्कृत भएको उजुरी भने दिएकी थिइनन् । लाज र भ्रमका कारण त्यतिबेला उनले उजुरी नदिएको बताइएको छ ।

सन् २०१७ मा अमेरिकी सेनामा करिब ६ हजार ८०० यौन उत्पीडनका घटना प्रकाशनमा आएका छन् । अघिल्लो वर्षको तुलनामा यो संख्या १० प्रतिशतले बढी हो ।
सिनेटर मार्थाले बुधबार सिनेट आर्म्ड सर्भिस उपसमितिमा यौन उत्पीडनका शिकार भएकाहरुको सुनुवाइका क्रममा आफ्नो विगतबारे खुलासा गरेको बताइएको छ ।
उनले यौन उत्पीडनको शिकार भएकाहरुलाई सम्बोधन गर्दै भनिन्, ‘तपाईहरुजस्तै म पनि यौन उत्पीडनको शिकार भएकी थिएँ, तर कयौं बहादुर महिलाभन्दा विपरीत मैले यसविरुद्ध आवाज उठाउन सकिनँ, अन्य महिला र पुरुषजस्तै मलाई त्यतिबेला व्यवस्थामाथि भरोसा थिएन ।’
२६ वर्षसम्म अमेरिकी वायुसेवामा काम गरेकी उनले सन् २०१० मा अवकाश पाएकी थिइन् ।