धरान:गुठीको नाममा रहेको मन्दिरको जग्गा किर्ते गरेर व्यक्तिको नाममा दर्ता गराएर बिक्री गर्ने गिरोह मध्ये ३ जना पुर्पक्षका लागि जेल चलान भएका छन् भने एक जना धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत सुनसरीका १ नम्बर न्यायाधिश पुरुषोत्तम प्रसाद ढकाकाको इजलाशले धरान १६ का सोमबहादुर परियार, मानबहादुर परियार र अर्जुन चौधरी पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो भने धरान १६ का किसोर मगर ५ लाख धरौटीमा रिहा भएको छन् । सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता गोकुल निरौलाका अनुसार अन्य अरोपितको हकमा अदालतबाट म्याद जारी हुनेछ । 'पक्राउ परेका ४ जनाको हकमा थुनछेक बहसपछि हिजो बिहिबारै आदेश भएको छ, ३ जना पुर्पक्षमा गए, एक जना ५ लाख धरौटीमा छुटेको छ,'निरौलाले भने,'धरानको वडाअध्यक्ष, मालपोतका कर्मचारीलगायत बाँकीको हाकमा म्याद जारी गर्नुपर्ने हुन्छ ।' जिल्ला न्यायाधिवक्ता निरौलाका अनुसार अदालतले जारी गरेको म्याद २१ दिनको दिन्छ ।

यो प्रकरणमा धरानको वडा नं १६ का अध्यक्ष दिलकुमार गिरी, मालपोत कार्यालय इनरुवाका शाखा अधिकृत मातृका दंगाल, नायब सुब्बा भरतराज दाहाल, बक्लौरीका रोति दर्नाल र उपेन्द्र कटवालविरुद्ध पनि अदालतमा अयिभोग दर्ता भएको छ । अदालतको आदेश वमोजिम ३ जना झुक्का कारागारमा पठाइसकेको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक विजय दाहालले जानकारी दिए । 'जनप्रतिनिधि र कर्मचारीको हकमा अदालतको आदेशमा के छ, सोही अनुसार हुन्छ,'उनले भने ।

गुठीमा रहेको चन्द्रशेखर महादेव मन्दिरको जग्गा नक्कली व्यक्ति खडा गरेर व्यक्तिको नाममा नामसारी गराउन प्रपञ्च गरेको खुलेपछि पकली प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो । सुनसरीको रामधुनी नगरपालिको ६ मा मन्दिरको नाममा भएको २२ कट्ठा १० धुर जग्गा हडप्न नक्कली जग्गाधनी खडा गरेर चलखेल भएको थियो । उनीहरुविरुद्ध पकली प्रहरीले अनुसन्धान गरी रायसहित मिसिल जिल्ला न्यायाधिवक्तलाई बुझाएको थियो । न्यायाधिवक्त निरौलाले किर्ते, ठगी र मतियारकोरुपमा संलग्न भएको अभियोगमा वडाअध्यक्ष गिरी, मालपोतका कर्मचारीसहित ९ जना विरुद्ध अदालतमा अभियोग दर्ता गराएका थिए ।

यो प्रकरणमा मुख्य गिरोहमा सोम परियार, मानबहादुर परियार, अर्जुन चौधरी रहेको प्रहरीको दाबी छ भने मालपोत कर्मचारी, वडाअध्यक्षले किर्ते, ठगीमा मतियारकोरुपमा सहयोग गरेको दाबी छ । यो गिरोहले चन्द्रशेखर महादेव गुठीको नामको जग्गा व्यक्तिको नाममा नामसारी गराउन चन्द्रशेखर महादेव(परियार) नामको नक्कली व्यक्ति र नक्कली नागरिकता निकालेको थियो । मानबहादुर परियारलाई चन्द्रशेखर महादेव(परियार) बनाएर नक्कली नागरिकता निकालेका थिए । नक्कली नागरिकता निकालेपछि वडा नं १६ मा जग्गाधनी पुर्जामा फोटो टाँस गर्न बाँकी रहेकोले सिफारिश गर्न निवेदन दिएको थियो । साथै, नागरिकतामा चन्द्रशेखर महादेव(परियार) भएको तर धनिपुर्जामा चन्द्रशेखर महादेव मात्र उल्लेख भएकोले दुवै नामथर भएको व्यक्ति एकै भएको सिफारिशको पनि माग गरेको थियो । यो गिरोहको माग वमोजिम वडाअध्यक्ष गिरीले मंसिर २७ गते सिफारिश गरिदिएका थिए ।

यो गिरोहले इटहरी तरहरा घर भएको नन्दबहादुर विश्वकर्मालाई उक्त जग्गा बिक्री गर्न १२ लाख रुपैयामा बैनासमेत गरिसकेको थियो । तर, नामसारी गराउने बेला मालपोतमा किर्ते गरेको उनले चाल पाएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो ।वडाअध्यक्ष गिरीले भने गलत मनसायले सिफारिश लगेको थाह पाएपछि कार्यावाहक अध्यक्ष दिपक आचार्य भएको बेला सिफारिश वदर गर्नको लागि मालपोत कार्यालयमा दोस्रो पटक पत्र पठाएको र आफ्नो कुनै गलत मनसाय तथा नियत नभएको दाबी गर्दै आएका छन् । सबै कागजपत्र दुरुस्त ल्याएको र त्यो जाँच गर्ने मेशिन पनि नभएकोले जनताको काम छिटो, छरितो गरिदिदा आफुलाई फसाएको भन्दै उनले विज्ञप्ती जारी गरेका छन् ।