काठमाडौं: स्वतन्त्र मधेसको लागि विभिन्न सभा, गोष्ठी र गतिविधिहरु गर्दै आइरहेका डा.सि.के.राउत र सरकारबीच राजनैतिक सहमति भएको छ ।

स्वतन्त्र मधेश गठबन्धनका संयोजक राउत र सरकारबीच आज शुक्रबार ११ बुँदे सहमति भएको हो । यो सहमतिसँगै राउत मुलधारको शान्तिपुर्ण राजनीतिमा आएका छन् । केही बर्षदेखि उनको गतिविधि भुमिगत शैलीमा भइरहेको थियो । उनी मधेशलाई अलग राज्य बनाउने अभियानमा थिए भने छुट्टै सेना पनि तयार गरिरहेको आशंका थियो । त्यसैले सरकारले उनको हरेक गतिविधिमा कडाई गरिरहेको थियो । तर, शुक्रबार सबैलाई अचम्मित पार्ने गरी सरकार र राउतबीचमा सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र राउतले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । राउतले हिंसात्मक आन्दोलन गरेर समय खेर नफाली जनमतको उपयोग गरी जनताको अधिकार हासिल गर्ने बेला भएको बताए । उनले आफुहरु बुद्ध र गान्धीको शान्तिपूर्ण बाटोबाट अघि बढ्न चाहेको प्रष्ट पार्दै अबका सबै खालको आन्दोलन शान्तिपुर्ण नै हुने प्रतिवद्धता पनि जनाए ।

आफ्नो आन्दोलन अधिकार प्राप्तीको भएको बताउदै उनले सरकारले शान्तिपुर्ण आन्दोलनलाई ठाउँ(स्पेस) दिएर ११ बुँदे सहमति गरेको भन्दै आजको दिन ऐतिहासिक भएको पनि उद्घोष गरे । 'हामीले जुन जुन मुद्दा उठाएका थियौ, त्यसलाई सरकारले शान्तिपुर्णरुपमा सम्बोधन गर्न लागेको छ,'राउतले भने । प्रधानमन्त्री शर्माले राउतमा आफुले असाधारण क्षमता देखेको भन्दै प्रसंसा गरेका थिए । उनले राउतलाई पुर्वप्रधानमन्त्री दाहालसँग तुलना गर्दै दाहाल जतिकै निर्णय क्षमता भएको बताए । 

sahamati-ck-0832019101833-1

shamati-ck-1-0832019101827-