धरान: धरानमा ‘चौथो पुरुष तथा प्रथम महिला हराईजन खुल्ला आमन्त्रण बास्केटबल प्रतियोगिता’ आगामी चैत्र पहिलो हप्ता हुने भएको छ ।

‘स्वास्थ्यको लागि खेलकुद, शिक्षाको लागि खुलकुद’ भन्ने मुल नाराका साथ धरान–१७ स्थित हराईजन क्लवको आयोजनामा चैत्र २ गतेदेखि ९ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सुनसरी, झापा, मोरङ, धनकुटाका १४ पुरुष र ६ वटा महिला टिमको सहभागिता रहने क्लवका अध्यक्ष बसन्त राईले जानकारी दिए । प्रतियोगिताको पुरषतर्फको विजेताले नगद ३५ हजार र उपविजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यसैगरी, महिलातर्फको विजेताले नगद १५ हजार र उपविजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचलाई मायाको चिनो प्रदान गर्दा पुरुषतर्फका मोस्ट भ्याल्लुयवल प्येलयर र रुकि प्यलेयरलाई क्रमसः नगद १० हजार र नगद ५ हजार रुपैयाँ प्रदान गरिने छ । यता महिलातर्फका मोस्ट भ्याल्लुयवल प्यलेयर र रुकि प्यलेयरलाई नगद ३ हजार र नगद १५ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको आयोजनाको लागि धरान उपमहानगरपालिका र धरान–१७ समाज हङकङको सहयोग रहेको छ ।