भद्रपुर : झापाको उत्तरी क्षेत्रबाट अवैधरुपमा काठ चारी तस्करी बढेको छ । जिल्लाको उत्तरी क्षेत्रको खुदुनाबारी, होक्से, बुधबारे, टिमाईलगायतका वन क्षेत्रबाट चिरान तथा तयारी काठ कारोबारीले भारततर्फ तस्करी गर्दै आएका छन् ।


नेपाल प्रहरी, वन रक्षक, शसस्त्र प्रहरीलगायतका सुरक्षाकर्मी परिचालित भएपनि कारोबारीले काठ तस्करीलाई जारी राखेका छन् । चोरी तस्करीबारे सुरक्षा निकाय मौन बस्दा बहुमुल्य काठहरु भारत निकासी हुदै आएको हो । भारतमा काठ नपाईने भएकोले यसको माग उच्च रहेका कारण प्रायः भारततर्फ लैजाने गरेको स्थानीयले बताएका छन् । सुरक्षाकर्मीले केही मात्रामा काठ बरामद गरे पनि पूर्णरुपमा नियन्त्रण गर्न सकेको छैन । उनीहरुले काम गरेजस्तो मात्र गर्ने गरेको स्थानीयले बताएका छन् । सशस्त्र प्रहरीले शुक्रबार पनि तयारी काठसंगै गाडी र चालकलाई समातेको छ । विर्तामोड नगरपालिका ५ सैनिक बजारबाट मे. १ च २४६७ नम्बरको निजी गाडीमा गोलधापतर्फ लैजादैँ गरेको अवस्थामा विर्तामोड ५ कै सुगम पेट्रोल पम्पछेउबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ ।

विशेष सुराकीको आधारमा असई आइन्द्र लिम्बुको नेतृत्वमा गएको नौ जनाको प्रहरी टोलीले गाडी नियन्त्रणमा लिएको सशस्त्रका डिएसपी ओजिस ओलीले जनाए ।

–ब्लाष्ट टाइम्स दैनिकबाट