झापा : बिर्तामोडमा जारी चौथो झापा गोल्डकपको फाईनल समिकरण पुरा भएको छ ।

आज बिर्तामोडस्थित डोमलाल राजबंशी रंगशालामा भएको अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा १–० ले बिजयी हुदै बिभागीय टोली त्रिभूवन आर्मी क्लब उपाधी नजिक पुगेको हो । जारी सिजनमा निक्कै फर्ममा देखिएको पहुना टोली क्यामरुनको दाउफिन्स क्लब भने आर्मीसँग स्तब्ध भयो । आर्मीले फाईनलमा झापा ११ को सामना गर्नेछ ।

आज भएको खेलमा आर्मीले दाउफिन्सले नै गोलको उपहार पाएपछि फाइनल यात्रा पक्का भएको हो । पहिलो २३ औं मिनेटमा दाउफिन्सका सिलु मार्टिन्सले आत्मघाती गोल गरेका थिए । त्यही गोल नै आर्मीलाई फाइनलमा पुर्याउन पर्याप्त बन्यो । आर्मीका भरत खवासले प्रहार गरेको बल सिलु मार्टिन्सले नियन्त्रणमा लिन खोज्दा आफ्नै पोस्टमा गोल भएको थियो । पहिलो हाफमा १–० गोलले पछि परेको दाउफिन्सले दोस्रो हाफमा आक्रामक खेल खेलेपनि सबै प्रयास आर्मीका गोल रक्षक विकेश कुथुले विफल बनाएका थिए ।

झापा गोल्डकपको उपाधि विजेताले १२ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । आर्मी र झापा गत बर्षको सँस्करणमा पनि भिडेका थिए । जसमा घरेलु टोलीलाई निराश बनाउँदै आर्मीले उपाधि जितेको थियो । फाईनल खेल सोमबार हुनेछ । आजको खेलको म्यान अफ दि म्याच आर्मीका बिमल पाण्डे घोषित भए । उनले नगद १५ हजार रुपैया प्राप्त गरे ।