धरान: धरानसँगै प्रदेश नं १ मा एकीकृतरुपमा साहसिक खेल पर्यटनको विकास, विस्तार र प्रर्वद्धन गर्न प्रदेशस्तरीय नेटवर्क गठन गरिएको छ ।

धरान उपमहानगरपालिका, नगर खेलकुद विकास समितिको आयोजना तथा माउण्टेन स्पोर्टस्(पर्वतीय खेल) फेडरेशनको सहयोगमा शनिबार धरानमा आयोजित वहृत अन्र्तक्रियाबाट प्रदेशस्तरीय नेटवर्क बनेको हो । साहसिक तथा पर्यटकीय खेलकुदका विभिन्न विधाहरुलाई एकीकृतरुपमा विकास, विस्तार गर्ने उद्देश्यले नेटवर्क गठन गरिएको फेडरेशनले जनाएको छ । तत्कालको लागि यही नेटवर्कबाट प्रदेश नं १ मा साहसिक खेल पर्यटनका योजना, कार्यक्रम तय गरिनेछ ।

प्रदेश नं १ मा साहसिक खेल पर्यटनका इभेन्ट(गतिविधि)हरु नियमित भइरहने ठाउँ हो धरान । यहाँ साइक्लिङ, प्याराग्लाइडिङ, फिसिङ, र्याफ्टीङ, क्यानोनिङजस्ता साहसिक खेल पर्यटनका गतिनिविधिहरु व्यवसायिक तथा नियमितरुपमा भइरहेको छ । त्यसैलाई मध्यनजर गर्दै शनिबार माउण्टेन स्पोट्स फेडरेशनको सहयोगमा साहसिक तथा पर्यटकीय खेलसम्बन्धी अन्र्तक्रिया धरानमा आयोजना गरिएको थियो । यसले धरान साहसिक खेल पर्यटनमा प्रदेश नं १ को हबकोरुपमा स्थापित हुदै गएको नगर खेलकुद विकास समितिका संयोजक सुवास राईले बताए ।

IMG_2540

वृहत अन्र्तक्रिया पश्चात गठन भएको नेटवर्कको संयोजकमा धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणी जिमी चुनिए । सहसंयोजकमा भने इन्द्र राई र प्रकाश ठकुरी चुनिएका छन् । हाल ११ सदस्यीय नेटवर्कमा पछि ४ सदस्य थप हुने बताइएको छ । ‘यो नेटवर्कले अब प्रदेश १ मा साहसिक तथा पर्यटकीय खेलकुदको विकास, विस्तार र व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर समन्वयकारी काम गर्नेछ,’फेडरेशनका अध्यक्ष गोविन्द भटराईले भने,‘पर्यटन बर्ष २०२०लाई पनि लक्ष्य गरेर हामी काम गर्नेछौ ।’

अन्र्तक्रियामा प्रदेश सभाकी सांसद कुसुम श्रेष्ठ, सावित्री जोशी श्रेष्ठ, धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी, प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयका सचिव हरि दाहाल, मन्त्रालयका खेलकुद महाशाखा प्रमुख उपेन्द्रप्रसाद दाहालले पनि आआफनो धारणा राखेका थिए । सबैले प्रदेश नं १ मा साहसिक तथा पर्यटकीय खेलको प्रचुर सम्भावना रहेकोले विकास, विस्तार गरेर पर्यटकहरुलाई भित्र्याउनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा फेडरेशनका अध्यक्ष भटराईले माउण्टेन स्पोट्सको बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने सुनसरी साइक्लिङ संघका अध्यक्ष राजेन लिम्बू, एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणी जिमि र नेपाली सेनाको यांगशिलास्थित कालीशक्ति गणका गणपति कर्णेल सुरज बैधवरले धरान, आसपासका साथै प्रदेश १ को साहसिक खेल पर्यटनको सम्भावना र चुनौतीहरुबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।