आसफोर्ड(बेलायत): १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई शुक्रबार संसारभरका अधिकारकर्मीहरूले मनाए । सोही उल्लासमा बेलायती नेपाली कविहरू आफ्नो सिर्जनामार्फत् जोडिए ।

विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले सिर्जना वाचन कार्यक्रम आयोजना गरिरहँदा दर्जन कविहरूले आफ्नो प्रस्तुतिमा नारीलाई विम्ब बनाइरहेका थिए । आसफोर्डको गोरखा भिल्लामा भेला भएका अन्य साहित्यानुरागीहरूले कविहरूलाई सुनेर साथ पनि दिए । सधैँ एकतर्फी रचना वाचन मात्रै गरिरहने सर्जकहरूले यसपटक भने एक अर्काका सिर्जनाउपर पनि समीक्षा गरेर तत्काल प्रतिक्रिया पनि जनाइरहेका थिए ।

औँतारी साइँला गुरूङले ‘महान् नारी’ कवितामार्फत साँझको भेलालाई पहिलो सम्बोधन गरे । उनीलगत्तै इको कवि विजय हितान मगरले औँतारीको रचनाले नारीलाई अणु बमको संज्ञाका रूपमा प्रस्तुत गरेको बताए । उनले ‘शिखर चढ्न किन नसकेको नारी’ शीर्षकको कविता पस्के । महासङ्घका निवर्तमान अध्यक्ष विश्वासदीप तिगेलाले हितानको रचनाले सुविधामा हुर्किरहेका नारीहरूप्रति व्यङ्ग्य गरेको टिप्पणी गर्दै आफ्नो रचना सुनाए । शुक्रबारै आफ्नो वैवाहिक वर्षगाँठ पनि मनाइरहँदा उनले जीवनसँगिनी भोजकुमारीमाझ आफूलाई प्रस्तुत गरे । पूर्व गोरखा सैनिक समेत रहेका तिगेलाले भने गोरखा शब्दप्रति असहमति जनाउँदै ‘गोरखा शब्दको खारेजी’ सुनाए ।

कवि लाहाङ चेम्जोङले रचनाबारे बोल्दै दुई सय वर्षअघि सुरु भएको गोरखा सैनिक भर्ती परम्पराले पहिचानमा पारेको सङ्कटलाई चित्रित गरेको जनाए । उनले ‘कविताभित्र नोरा’ प्रस्तुत गरे । सोउपर समीक्षा गर्दै गायक थिर थापा मगरले हेनरिक इब्सनको कालजयी नाटक ‘अ डल्स हाउस’ का पात्रहरूलाई उत्कृष्ट ढङ्गले कवितामा रुपान्तरण गरेको प्रतिक्रिया दिए । मगरले पनि नारी बहुआयामिक व्यक्तित्वका रूपमा रहेको भन्दै आधा दर्जन छोटा कविताहरू सुनाए । उनीपछि उदाएका कार्यक्रम संयोजक एवम् कवि अमित थेवेले वाचन गरिएका रचनाहरूले सूक्ष्म रूपमा महिलालाई बुझ्न सघाउ पुगेको धारणा दिए । उनले ‘मिःम्जिमा’ र ‘छापामारको छायाँ’ सुनाए ।

कार्यक्रममा भोजकुमारी लिम्बु, भावना सिङ्गक चेम्जोङ, आनन्द देवान, तङ्नाम तिगेला, मनिराज आङ्बुहाङ, सुवास राई लगायत उपस्थित थिए । यसैगरी, शुक्रबार बसेको विनेसाम, साउथ यूकेको बैठकले आगामी मार्च ३० तारिखमा आफ्नो स्थापना दिवस तथा अर्थ आवरका अवसर पारेर बृहत साहित्यिक कार्यक्रम गर्न लागरिहेको महासचिव थिर थापा मगरले बताए । उनले बैठकले कवि थेवेलाई कार्य समिति सदस्यमा समेत चयन गरेको जानकारी दिए ।