धरान: नेपालमै पहिलो पटक आयोजना हुन लागेको पाँचौं साफ महिला फुटबल प्रतियोगिता विराटनगरमा मंगलबारदेखि शुरु हुदैछ ।

सहिद रंगशालामा हुने प्रतियोगिताको उद्घाटन नेपालका पुर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पासहितको टोलीले आज पुर्वप्रधानमन्त्री दाहाललाई भेटेर प्रमुख अतिथिको निमन्त्रणा दिएका थिए । दाहालले निमन्त्रणा स्वीकार गरेपछि एन्फाका प्रवक्ता किरण राईले सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुराको जानकारी दिएका हुन् । पाँचौ महिला साफ च्याम्पियनसिपको उद्घाटन फागुन २८ गते मंगलबार २ बजे पुर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट सम्पन्न हुने सबैमा जानकारी गराउदछु, एन्फा प्रवक्ता तथा च्याम्पियनसिपका प्रचारप्रसार संयोजक राईले पोष्ट गरेका छन् ।

प्रतियोगिता फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा हुदैछ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काका राष्ट्रिय महिला फुटबल टिमको सहभागिता हुनेछ । ती देशका टोली आज साँझसम्म विराटनगर आइपुग्नेछन् । प्रतियोगिताको उद्घाटन खेल फागुन २८ गते नेपाल र भूटानबीच उद्घाटन खेल हुनेछ। प्रतियोगिताको ‘ए’ समूहमा नेपाल, भूटान र बङ्गलादेश रहेको छ भने ‘वी’ समूहमा भारत, श्रीलङ्का र मालदिभ्सको महिला टिम छ । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको छ ।