ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “प्रेमीबाटै रमिलाको हत्या” शीर्षकको समाचार छापिएको छ । फागुन १७ देखि बेपत्ता रहेकी मोरङको बेलबारी नगरपालिका वडा नं. ४ की रमिला राईको उनकै प्रेमीबाट हत्या भएको खुलेको छ । रमिलाका प्रेमी भनिएका योगेन्द्र गुरुङले हत्या गरी कोशीमा फालेको प्रहरीसंग स्वीकार गरेका छन् । साविक एमालेका पूर्व नगरअध्यक्ष तथा नोवेल अस्पताल मेडिकलका सञ्चालक समिति अध्यक्ष गुरुङलाई प्रहरीले रमिलाको हत्या अभियोगमा पक्राउ गरेर अनुशन्धान गरीरहेको छ । रमिला बेपत्ता भएपछि प्रहरीलाई खबर गरेका गुरुङ भाग्दैँ गरेको अवस्थामा प्रहरीले इलामबाट पक्राउ गरेको हो । हत्या गरेर कोशीमा फालिएको खुलेपछि आइतबार दिनभर प्रहरीले कोशी ब्यारेजमा शवको खोजी गर्यो । रमिलाको शव खोजि गर्नेक्रममा अर्कि एक महिलाको शव सडिएको अवस्थामा फेला परेको छ । रमिलाका आफन्तजनले हेरेपछि शव उनको नभएको पुष्टि भएको छ । बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईको नेतृत्वमा प्रहरीको विशेष उद्दार टोलीले दिन भर खोजी गरेपनि रमिलाको शव भने फेला परेन ।

उद्घोष : आजको उद्घोष दैनिकमा “सहमति जुटाउन म्याद थप” शीर्षकको समाचार छापिएको छ । प्रदेशको राजधानी र नामाकरणको प्रस्ताव कसले गर्ने भन्ने विषयमा संसद भित्रका सत्तापक्षिय र प्रमुख प्रतिपक्षी दलबीच सहमति जुटाउन १५ दिनको कार्यदेश पाएको प्रदेशसभा नियमावली संशोधन मस्यौदा समितिको म्याद फागुन मसान्तसम्मलाई थपिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा मस्यौदा समितिका संयोजक तुलसीप्रसाद न्यौपानेले नियमावली संसोधन मस्यौदा समितिमा सर्वसम्मतिमा पुग्न बाँकी विषयमा सर्वसम्मतिको प्रयत्नका लागि समितिको समय थप गर्ने प्रस्ताव पेश गरेका हुन् । सभामुख प्रदिप कुमार भण्डारीले समितिको म्याद फागुन मसान्तसम्मका लागि थप गर्न गरेको प्रस्तावलाई प्रदेशसभा वैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “भारतीय प्रहरी हतियारसहित नेपालमा” शीर्षकको समाचार छापिएको छ । हतियारसहित नेपाल प्रवेश गरेर भारतिय प्रहरीले घण्टौँ बिताउँदा पनि नेपाली सुरक्षा अंगले भने त्यसको सुईको पाएन । सीमा क्षेत्र पार गरेर हतियारसहित सदरमुकाम राजविराज आइपुगेका भारतीय सुरक्षाकर्मीको नेपाल प्रवेशले जिल्लास्थित सुरक्षा अंगको लापरबाही उजागर गरेको छ । घटना शनिबार रातिको हो । विहार पुलिसको सव–इन्सपेक्टरसहित १० जना प्रहरी बर्दी र हतियारसहित राजविराजस्थित एक होटलमा घण्टौ बसेर रक्सी सेवन गरे । र,आरामले फर्किए । तर, जिल्ला प्रहरी कार्यालय सप्तरी र अन्य सुरक्षा अंग बेखबर रहे । राजविराजस्थित जिल्ला प्रहरी कार्यालयको सय मिटर टाढा मुख्य सडक छेउमै रहेको एक रेष्टुरामा भारतीय सीमावर्ती जिल्ला सुपौलको मरौना थानाको गाडीनै लिएर उनीहरु राजविराज छिरेका थिए ।