वासिंटन : बोइङ्ग कम्पनीको नयाँ विमान ‘७३७ म्याक्स ८’ मोडलमा प्राविधिक कमजोरी त छैन भन्ने आशंका प्रकट गर्न थालिएको छ । उक्त मोडेलका दुई नयाँ विमान ६ महिनाकै अन्तरालमा दुर्घटना भएपछि यस्तो आशंका प्रकट गर्न थालिएको हो । दुवै दुर्घटना उस्तै प्रकृतिबाट भएका थिए ।

आइतबार इथियोपियाली एयरलाइन्सको विमान उडान भरेको ६ मिनेटमै टावरसँग सम्पर्क बिच्छेद भएर दुर्घटना भएको थियो । उक्त विमानमा सवार १५७ जनाको मृत्यु भयो । गत अक्टोबरको अन्त्यमा लायन एयरको विमान जाभा सागरमाथि दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो । उक्त विमान पनि उडान भरेको १३ मिनेटमै दुर्घटना भएको थियो ।

बोइङ्ग कम्पनीका ‘७३७ म्याक्स ८’ मोडलका विमानले व्यावसायिक उडान थालेको दुई वर्ष पनि पुरा भएको छैन । अमेरिकी टेलिभिजन च्यानल सिएनएनका एभिएसन विश्लेषक तथा अमेरिकी परिवहन विभागका पूर्वमहानिर्देशक मेरी शियाभो दुवै दुर्घटना एकै प्रकृतिको भएको तर्क गर्दै यसलाई गम्भीर रुपमा लिनुपर्ने बताउँछिन् ।

नयाँ ब्राण्डको विमान छोटो समयमै यसरी दुर्घटना हुनु असामान्य रहेको उनको भनाइ छ । इथियोपियाली एयरलाइन्सको विमान र लायन एयरको विमान दुर्घटनामा धेरै समानता रहेको उनले बताइन् ।

उक्त मोडेलमा सुरक्षाका लागि उपलब्ध गराइएका केही खास प्रविधिका बारेमा पाइलटलाई राम्ररी प्रशिक्षित नगरिएको गुनासो पनि आउन थालेको छ । खास परिस्थितिमा विमान एक्कासी तल झर्ने फिचर नयाँ मोडलमा समावेश छ । लायन एयर दुर्घटनामा ज्यान गुमाएका एक यात्रुको परिवारले बोइङ्ग विरुद्ध मुद्दा समेत दायर गरेका छन् । विमानमा जडान गरिएको नयाँ सुरक्षा फिचरका कारण खास परिस्थितिमा विमान ‘अटो डाइभ’ गर्ने भएकाले यसबारे कम्पनीले पाइटलहरुलाई उचित प्रशिक्षण नदिएको पीडित परिवारजनको आरोप छ ।