धरान: सामाजिक सञ्जालमा जोडिँदै आएका लिम्बुवानवादी युवाहरूको जमातले लिम्बुवान स्प्रिङ आन्दोलनको घोषणा गरेको छ । लिम्बुवानविरोधी गतिविधि बढेकाले प्रतिरोधका लागि आन्दोलन घोषणा गर्नुपरेको उनीहरूले बताएका छन् ।

एक प्रेस विज्ञप्ति जारी गर्दै लिम्बुवान स्प्रिङ आन्दोलनमा स्वतःस्फूर्त रूपमा लिम्बुवान युवा अभिायनकर्मीहरू सामेल भएको प्रष्ट पारेका छन् । विभिन्न सङ्घ सङ्गठनहरूमा आबद्ध र स्वतन्त्र गरी चार दर्जन बढी अभियन्ताहरूको नामावलीसहितको सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, ‘लिम्बुवानविरोधी तत्वहरू सक्रिय भएकोले प्रतिरोधको अभियानमा सामेल हुन आम पहिचानवादी र लिम्बुवानवासी नागरिकहरूलाई हार्दिक आह्वान गर्दर्छौँ।’

यस आन्दोलनमा लिम्बुवान सङगठनमा आबद्ध कार्यकर्तासँगै हाल सत्ता पक्षनिकट अभियानकर्मीहरूको पनि बाहुल्यता छ । उनीहरूले पछिल्लो समय लिम्बुवानविरोधी चलखेल बढेकाले मुद्दा जोगाउन एक ठाउँ आउनु परेको बताएका छन् । ‘लिम्बुवान आन्दोलन चर्किरहँदा गुमनाम भएका अभियान र निर्जीव नामहरूलाई अगाडि सारेर ऐतिहासिक पहिचानलाई धराप पार्न लिम्बुवानविरोधी तत्वहरू सक्रिय भएकोले प्रतिरोधको अभियानमा सामेल हुन आम पहिचानवादी र लिम्बुवानवासी नागरिकहरूलाई हार्दिक आह्वान गर्दर्छौँ,’ विज्ञप्तिमा भनिएको छ,‘लिम्बुवानविरोधी हर्कतमा लागेका व्यक्ति, तत्व र समूहहरूलाई प्रश्रय दिइरहेकोप्रति पनि हाम्रो समूह घोर भत्सर्ना गर्दछ । लिम्बुवानविरूद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिने व्यक्तिहरूलाई आजैबाट सशक्त बहिष्कारको अभियान पनि सुरु भएको सबैमा अवगत गराउँदछौँ ।’

सन् २०१० मा भएको अरब स्प्रिङ आन्दोलन यसैगरी सामाजिक सञ्जालबाट सुरु भएको थियो । जुन आन्दोलन नागरिक तहसम्म पुगेर अवज्ञा, प्रतिरोध र क्रान्तिको चरणसम्म फैलिएको थियो । लिम्बुवान स्प्रिङ आन्दोलबारे आफ्नो अवधारणा र औचित्य चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको अभियन्ता टङ्क सेलिङले बताए ।