बिर्तामोड : झापा ११ चौथो पटक पनि अभागी साबित भएको छ । झापाको बिर्तामोडस्थित डोमलाल राजबंशी रंगशालामा आज सम्पन्न फाईनल खेलमा आर्मीसँग ५–३ गोलअन्तरले पराजित भएको हो ।

यो सँगै साबिक बिजेता त्रिभूवन आर्मी क्लबले लगातार दोश्रो झापा गोल्डकपको उपाधी चुमेको हो । आज सम्पन्न अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा झापा पहिलो हाफमा २ -१ ले पछाडी रहेको थियो । दोश्रो हाफमा निक्कै आक्रामक रुपमा प्रस्तुत भएको झापाले बराबरी गर्न सफल भयो । तर त्यो बराबरी धेरै समय झापाले टिकाउन सकेन खेलको ईन्जुरी समयमा झापाले तेश्रो गोल फर्काएको थियो । आर्मीले दोश्रो हाफमा थप तिन गोल गर्दै अन्तत झापालाई ५-३ ले पाखा लगाउँदै उपाधी चुमेको हो ।

jhapa-gooolddd-cup-l

आर्मीले सेमिफाईनलमा बिदेशी टोली क्यामरुनको दाफिन्स फुटवल क्लबलाई पराजित गर्दै फाईनलमा पुगेको थियो भने झापा ११ ले सेमिफाईनलमा थ्रिस्टारलाई पराजित गर्दै फाईनलमा आफ्नो स्थान बनाएको थियो । यसअघि पहिलो र तेस्रो संस्करणमा भएको दुवै उपाधि भिडन्तमा आर्मीले उपाधि कब्जा गरेको थियो । उपाधिसँगै आर्मीले नगद १२ लाख ५० हजार रुपैया प्राप्त गरेको छ । यस्तै उपविजेतामै चित्त बुझाएको झापा ११ ले ६ लाख पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।