झापा : पूर्वपश्चिम राजमार्ग अन्तर्गत बिभिन्न स्थानमा पर्ने पुलहरु जोखिममा रहेका छन् । हरेक बर्षको बर्खा याममा पुल जीर्ण बनेको बिषयले प्राथमिकता पाउने भएपनि बर्खा सकिएपछि भने कसैले यसप्रति चिन्ता र चासो व्यक्त नगरेको पाईएको छ ।

अब फेरी बर्खाको समय आउनै लागेको छ । तर पुलहरुको अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गमा बिभिन्न स्थानमा रहेको नदिहरुमा पुल निर्र्माण गरिएको छ । तर अहिले ति पुल मध्ये अधिकांस पुल जोखिममा रहेका छन् । सवारीका साधनले कतै पुलमा ठक्कर दिएर पुुल भत्किएको अवस्थामा छ भने कतै पुल भासिएको अवस्थामा छ । कुन बेला के हुने हो अत्तो हुन्न ।

पूर्वी धनुषाको कमलादेखि सर्लाहीको पश्चिमी सीमा बाग्मती नदीसम्म पर्ने राजमार्गको ७७ किमी खण्डमा सानाठूला गरी ४० पुल छन् । तीमध्ये रुस र भारत सरकारको सहयोगमा सन् १९७२ सालमा निर्मित ३९ पुल जर्जर अवस्थामा रहेको सडक डिभिजन कार्यालय जनकपुरले जनाएको छ । कार्यालयका अनुसार यस खण्डको धनुषास्थित बडहरी खोलाको पुलबाहेक सबै पुनः निर्माण गर्नुपर्ने अवस्था छ ।

पूर्वी नेपाललाई संघीय राजधानीसँग जोड्ने सो राजमार्गमा सवारीको चाप र समयका हिसाबले पनि यी पुल निकै पुरानो भइसकेका छन् । अझ पूर्व मेची र महाकालीलाई जोड्ने लाइफलाईनका रुपमा रहेको सुनसरी र सप्तरीको सिमामा पर्ने सप्तकोशी नदि माथिको पुलको हालत पनि उस्तै नै छ ।

समस्या अर्कोपनि छ । पुलका स्तम्भको जगसमेत देखिने गरी क्रसर व्यवसायीले उत्खनन गरिरहेका छन् । देशलाई जोड्ने मेरुदण्डजस्तो प्रमुख सडकको पुल मर्मतमा सरकारले गम्भीरता देखाउनुपर्ने स्थानीयवासीको माग छ । यस बिषयमा सरकारले अहिलेसम्म कुनै सोच बिचार नै नगरेको अवस्था छ । बर्खा सुरु हुन लागेको छ । अब यहि जीर्ण पुलका कारण कहा कति क्षती पुग्ने हो त्यसको लेखाजोखा गर्न बरु सरकारी सरोकारवाला तयार भईसके तर पुल पुनर्निर्माण बारे कुनै पत्तो छैन ।