धरान(डेस्क): धरानको वडाअध्यक्षसमेत मुछिएका रामधुनी नगरपालिका ६ बकलौरीस्थित चन्द्रशेखर महादेव मन्दिरको जग्गा हडप्न मालपोत कार्यालय इनरुवाका कर्मचारीको सेटिङ रहेको खुलेको छ ।

मन्दिरको नाममा रहेको जग्गालाई व्यक्तिको हक कायम गराउन भुमाफियाको हिरोहसँग मालपोतका कर्मचारीको पनि सेटिङ रहेको खुलेको हो । प्रहरी अनुसन्धानको क्रममा अधिकृत मातृका दंगालले गिरोहसँग मिलेमतोमा मन्दिरको जग्गालाई व्यक्तिको हक कायम हुने गरी सबै सेटिङ गरेको खुलेको थियो । यसको लागि दंगालले २५ लाख लिएको स्रोतको भनाई छ । दंगालले ठुलो आर्थिक लाभ लिएर मन्दिरको स्रेस्ताको मोठमा बाउ र बाजेको महलमा नक्कली जग्गाधनीको बाउ र बाजेको नाम उल्लेख गरिदिएको पाइएको छ ।

स्रेस्तामा जग्गाधनीको नाममा चन्द्रशेखर महादेव मन्दिर उल्लेख भएकोमा कर्मचारीले मन्दिरलाई केरमेट गरिदिएका थिए । त्यसमाथि, परियार थर जोडेर जग्गाधनीको नाम चन्द्रशेखर महादेव परियार कायम गरिदिएका थिए । यस्तै, मोठमा मन्दिरको बाउ र बाजेको महल खाली रहेकोमा कर्मचारीले बाउको महलमा काले महादेव परियार र बाजेको नाम मानविर महादेव परियार थपिदिएको भेटिएको छ । यो काम दंगालको निर्देशनमा नायब सुब्बा दाहालले गरेका थिए । यसमा ठुलै आर्थिक चलखेल भएको थियो, दंगालले २५ लाख लिएको कुरा छ, मालपोत स्रोतले भन्यो ।

IMG_20190305_154921

प्रहरी अनुसन्धान पश्चात मिसिल बुझाए पछि सरकारी वकिलको कार्यालयले मालपोत अधिकृत दंगाल र नायब सुब्बा भरतराज दाहालसमेत ९ जनालाई प्रतिवादी बनाएर किर्ते र ठगीको अभियोगमा मुद्दा दायर गरेको थियो । अधिकृत दंगाल र नासु दाहालको मिलेमतोमा भएको जग्गा प्रकरण सार्वजनिक भएपछि खैलाबैला मच्चिएको थियो । आफ्नो कतुर्त सार्वजनिक भएपछि अहिले अधिकृत दंगाल आफुविरुद्धको प्रमाण नष्ट गर्न लागिपरेको भेटिएको छ । उनले मालपोतको स्रेस्तामा केरमेट गरेर प्रमाण नष्ट गर्न खोजेको प्रष्ट देखिन्छ । आफु फस्ने निश्चित भएपछि स्रेस्तामा केरमेट गरेर प्रमाण नष्ट गर्ने प्रयास गरिएको छ, स्रोतले भन्यो ।

करोड भन्दा बढीको मन्दिरको जग्गा भएकोले गिरोहले मालपोत कर्मचारीलाई ठुलै रकम लगानी गरेको थियो । बकलौरी ९ (ग) र (घ) को कित्ता नम्बर २५७ को ३ कट्ठा ५ धुर र कित्ता नम्बर १४ को १९ कठ्ठा ६ धुर मन्दिरको नामको जग्गा नक्कली व्यक्ति खडा गरेर व्यक्तिको नाममा कायम गरी जग्गा धनीपुर्जा निकालिएको थियो । यसको लागि चन्द्रशेखर महादेव परियार नामको नक्कली व्यक्ति तयार गरेर उसको नामको नक्कली नागरिकता बनाइएको थियो । उक्त नक्कली नागरिक लिएर भुमाफिया गिरोहले धरानको वडा नं १६ बाट धनीपुर्जामा फोटो टाँस छुटेको र नागरिकतामा भएको परियार थरको चन्द्रशेखर महादेव र धनीपुर्जामा परियार छुटेको व्यक्ति एकै भएको सिफारिश लिएका थिए । यो प्रकरणमा वडा नं १६ का अध्यक्ष दिलकुमार गिरी(गिरी कान्छा) माथि पनि किर्ते र ठगीको मतियारकोरुपमा अदालतमा अभियोग दर्ता भएको छ ।

IMG_20190305_154948 1

गिरोहले मन्दिरको जग्गा इटहरीका नन्दलाल विश्वकर्मालाई बिक्री गर्ने क्रममा कर्तुत पर्दाफास भएको थियो । जग्गा रजिष्ट्रेशन पास गर्ने क्रममा नन्दलाललाई शंका लागेपछि प्रहरीमा उजुरी गरेका थिए । उनले बैनासमेत दिइसकेका थिए । ठगी र किर्ते प्रकरणमा इलाका प्रहरी कार्यालय पकलीलले भू–माफिया गिरोहका मुख्य योजनाकार मालपोत अधिकृत दंगाल, नायव सुब्बा दाहालसँगै धरान १६ का किशोर मगर, इटहरीका अर्जुनकुमार चौधरी, धरान १६ कै सोमबहादुर परियार, मानबहादुर परियार, बक्लौतरीका रोहित दर्नाल, उपेन्द्र कटुवाल र धरानको वडा १६ का अध्यक्ष गिरीविरुद्ध ठगी तथा किर्ते अभियोगमा सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेकोे थियो । प्रहरीले किसोर मगार, मानबहादुर परियार, सोमबहादुर परियार र अर्जुनकुमार चौधरीलाई पक्राउ गरेको थियो ।

गिरोहले मानबहादुर परियारलाई चन्द्रशेखर महादेव परियार बनाएर नक्कली नागरिकता निकालेर मिलेमतोमा मन्दिरको जग्गा हड्प्ने योजना बनाएको थियो । उक्त मुद्दाको थुनछेक बहसपछि अदालतले पक्राउ परेकामध्ये किशोर मगरलाई ५ लाख घरौटीमा रिहा गरेको थियो भने अर्जुन, सोमबहादुर र मानबहादुर परियारलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । अन्यको हकमा म्याद जारी भएको छ ।