ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “प्रधानमन्त्रीको पुख्र्यौली गाउँमा पानीको हाहाकार” शीर्षकको समाचार छापिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पुख्र्यौली गाउँ तेह्रथुमको आठराई गाउँपालिका ४, ५, ६ र ७ मा खानेपानीको चरम अभाव भएपछि सिङ्गो बस्तीनै बसाइँ सर्ने क्रम बढ्दो छ । गाउँघरका खोलाखोल्सी, धारा, पँधेरा पूर्णरुपमा सुक्न थालेपछि थातथलो छाड्नेको संख्या वर्षेनी बढेको हो । खानेपानीको समस्याका कारण फागुण महिनामा मात्रै आठराईको दक्षिणी भेग थोक्लुङबाट ११ घरधुरी अन्यत्र बसाइँ सरेका छन् । आठराई गाउँपालिका ७ कर्कलेमा ३६ घरमध्ये हाल १० घर मात्र बाँकी छ । २६ घर बसाँइँ सरेर अन्यत्र गएका छन् । फागुन महिनामा मात्रै जङ्गबहादुर स्याङ्गवाको ७ जनाको परिवार झापाको जलथलमा पुगेका छन् । उनी पेशाले पूर्वी भारतीय आर्मी हुन् । २०४१ सालमा भारतीय सेनाबाट पेन्सन आउँदा छिमेकी ऋषिराम दंगालसंग ४५ हजारमा किनेको जग्गा त्यसै छोडेर गएका हुन् । दङ्गालको परिवार भने ३५ अगावै मोरङको गछियामा बसाइँ सरेको स्याङबोले बताए । कर्कलेमा गाउँभरीका मान्छेका लागि जम्मा एउटा धारो थियो त्यो पनि ७ वर्ष अघि नै सुकेको उनले बताए ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “हात्ती आक्रमणमा पाँच भारतीयको मृत्यु” शीर्षकको अर्को समाचार पनि छापिएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षक्षेत्रमा रैथाने रुपमा बस्दै आएको मुकुना हात्तीले आक्रमण गर्दा भारतको सुपौल जिल्ला क्षेत्रमा पाँचजनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएको कोशीटप्पु वन्यजन्तु आरक्षले जनाएको छ । आरक्षका हात्तीले सुनसरी, सप्तरी र उदयपुरको आरक्षक्षेत्र आसपास पाँचवर्ष अघिदेखि नै विध्वंस मच्चाउँदै आएका छन् । आरक्षका सहायक वार्डेन गनेश तिवारीले भारतर्फगइएको हात्तीको आक्रमणबाट तीनदिनमा ५ जनाको मृत्यु र नौ जना घाइते भएको सूचना आएको बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “कोशीमा शव खोज्दै प्रहरी” शीर्षकको समाचार छापिएको छ । मोरङ बेलबारी ४ की रमिला राइृलाई हत्या गरेर कोशीमा फालेको नेकपाका नेता योगेन्द्र गुरुङले दिएको बयानका आधारमा सप्तकोशी व्यारेज आसपासको क्षेत्रमा प्रहरीले खोजी कार्य तीव्र पारेको छ । पक्राउ परेका व्यतिको बयानका आधारमा कोशी व्यारेज आसपासका क्षेत्रमा खोजी भइरहेको मोरङ प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए । केसीका अनुसार व्यारेज आसपासको क्षेत्रमा खोजीकार्य भइरहे पनि बेपत्ता भएकी महिला अझैँसम्म भेटिएकी छैनन् । प्रहरीले भारतीय सीमावर्ती सप्तकोशी नदीको विभिन्न क्षेत्रमा खोजी गरिरहे पनि अझैँसम्म केही पत्ता लगाउन नसकेको केसीले बताए । उनले भने, ‘महिलाको खोजी भइरहे पनि अझँसम्म पत्ता लाग्न सकेको छैन ।’ रमिलालाई भेटन नसके पनि एउटी युवतीको शव फेला पारेको केसीले जानकारी दिए ।


त्यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “फिदा हत्या आरोपी पाँच जना जेल चलान” शीर्षकको समाचार छापिएको छ । झन्डै पाँच महिना अघि सुनसरी दुहवी वडा नं. ९ सोनापुरको छातावेलीमा एक उद्योगका सुपरभाइजरको हत्या आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि जेल चलान भएका छन् । दुहवी वडा नं. ९ कै ५५ वर्षीय मोहम्मद फिदा हुसेनको मंसिर ५ गते हत्या भएको थियो । हत्या आरोपमा सुनसरी प्रहरीले पक्राउ गरी मुद्दा चलाएका दुहवी वडा ९ कै २८ वर्षीय मोहम्मद सकिम हुसेन, वडा नं. १२ का ६० वर्षीय विशम्बर यादव, वडा नं. ९ कै २२ वर्षीय मोहम्मद जफार मियाँ र वडा नं. ३ का ३२ वर्षीय दिपककुमार साहलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

उद्घोष : आजको उद्घोष दैनिकमा “खेलाडीलाई जनही एक लाख” शीर्षकको समाचार छापिएको छ । आजदेखि सुरु हुने साफ महिला च्याम्पियनसीपमा खेल्ने नेपाली महिला फुटबल टोलीलाई जनही एक लाख रुपैयाँ वितरण गरिएको छ । अखिल नेपाल फुटबल संघ –एन्फ) ले पहिलो पटक ओलम्पिक छनौट खेलमा भारत, बंगलादेश र म्यानमारसंग बराबरी खेलेर छनोटको दोश्रो चरणमा प्रवेश गराएकोले प्रति खेलाडी ५० हजार र हिरो कपमा विजेत ाबनेका कारण थप ५० हजार रुपैँया गरी एक लाख रुपैँयाका दरले पुरस्ककार वितरण गरीएको एन्फाका प्रवक्ता किरण राईले बताए ।