विराटनगर: उपत्यकाबाहिर पहिलो पटक हुन लागेको पाँचौ साफ महिला च्याम्पियनसिपको आज दिउँसो उद्घाटन हुदैछ । विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगिताको उद्घाटन पुर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।

च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भइसकेको एन्फाले जनाएको छ । प्रतियोगिताको सहभागी देशका टिम कोच र क्याप्टेनसहित सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलनमा एन्फाले च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरेको हो । सहभागी देशको टिमले सहिद रंगशाला मैदानमा अभ्यास गरिसकेको छ । आज उद्घाटन खेल आयोजक नेपाल र भुटानबीच हुनेछ । प्रतियोगितामा आयोजक देश नेपालसँगै भारत, श्रीलंका, भुटान, माल्दिभ्स र वंगलादेशको सहभागिता रहेको छ ।

नेपाली महिला राष्ट्रिय टोलीलाई सम्मान

केही साताअघि भारतमा सम्पन्न हिरो कपमा उपविजेता बनेको तथा ओलम्पिक छनोटमा दोस्रो चरणमा प्रवेश गरेको नेपाली महिला राष्ट्रिय टोलीलाई एन्फाले सम्मान गरेको छ । साफ महिला फुटबलमा भाग लिन विराटनगर आएको टोलीलाई सोमबार राती नगदसहित सम्मान गरिएको हो ।

एन्फाका अनुसार ओलम्पिक छनौट र हिरो कपमध्ये एकमा सहभागी खेलाडीलाई जनही ५०/५० हजार पुरस्कार दिइएको थियो भने दुवैमा सहभागी खेलाडीलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरिएको थयो । ओलम्पिक छनौट र हिरो कप दुवैमा १७ जना खेलाडी थिए । उनीहरुले जनही एक लाख पाए । एक लाख रुपैयाँ पुरस्कार पाउने खेलाडीहरुमा मन्जिलाकुमारी योन्जन, विमला चौधरी, अन्जना राना मगर, एन्जिला तुम्बा, सरु लिम्बू, अनिता केसी, अनिता बस्नेत, हीराकुमारी भुजेल, सावित्रा भण्डारी, गीता राना, मनमाया लिम्बू, पुनम जर्घामगर, कविता धिमाल,दीपा राई, निरु थापा, रेणुका नगरकोटी र अमृता जैसी छन् ।

यस्तै, एउटा मात्र प्रतियोगिता खेल्ने खेलाडीहरु ९ जना रहेका छन् । उनीहरुले जनही ५० हजार नगद पाए । उनीहरुमा रेखा पौडेल, रन्जना दर्जी, सुनिता चौधरी, उषा नाथ, अनु लामा, शर्मीला थापा, रुपा राना, दीपा न्यौपाने र पूजा राना रहेका छन् । यसैगरि, अफिसियलतर्फ फिजियोमा विवेक विक्रान्त अधिकारी, मनीषा महर्जन र जिनी बज्राचार्यले पनि जनही ५० हजार पुरस्कार पाएका छन् । सहायक प्रशिक्षक भगवती राना मगर, गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र, टोली व्यवस्थापक कमला हिराचन र टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पनि जनही एक लाख रुपैयाँ पुरस्कार पाएका छन् ।