धरान: पुजा कोठामा घाँटी काटिएर मृत्यु भएको अवस्थामा भेटिएका ३० बर्षीय रितेशप्रसाद देव तन्त्रमन्त्र सिक्दै गरेको खुलेको छ ।

धरान ९ , आचार्य लाइनस्थित मदन कर्मचार्यको घरमा भाडामा बस्दै आएका देव आफ्नै पुजा कोठामा मृत अवस्थामा आज बिहान भेटिएका थिए । घटनास्थल रहेको पुजा कोठाको भित्तामा विभिन्न हिन्दु देवताको फोटो टाँसिएको छ भने एउटा त्रिशुल पनि छ । उत्तानो परेको अवस्थामा देवको शव छ भने हातमा चुलेसी पनि समातिएको छ । उनी पहेलो गेरु वस्त्रमा छन् । एउटा ठुलो त्रिशुल र डमरु पनि छ ।

प्रहरीका अनुसार घाँटीको पछाटि पट्टी रेटिएको देखिन्छ । कोठामा रगतको आहाल छ । प्रहरीले घटनास्थल र मृतकको तस्बिर खिच्न दिएको छैन । अनुसन्धानको लागि धरानस्थित संघीय प्रहरी इकाई कार्यालयबाट तालिम प्राप्त कुकुर घटनास्थलमा लगिएको छ । सप्तरीको राजविराज १३ घर भएका मृतक देव आफ्नै माइला दाजु पुस्कर प्रसाद देवसँग सोही घरमा भाडामा बस्दै आएका थिए । उनका जेठा दाजु दिपेन्द्र पनि धरानमै आचार्य लाइन पर्तिर खहरे किनारमा भाडामा बस्दै आएका थिए । मृतक काइला भाई हुन् । मृतक देव आफ्ना माइला दाईसँग कर्मचार्यको पुरानो पक्की घरमा भाडामा बस्दै आएका थिए । दाजुभाईको किचन एउटै भएपनि सुत्ने कोठा अलग थियो । 

IMG_20190312_115809

माइला दाजु पुस्करका अनुसार मृतक रितेश बिहान ८ बजेदेखि १० बजेसम्म र बेलुकी पनि ४ बजेदेखि राती १० बजेसम्म पुजा कोठाभित्र पुजा गर्दै बसिरहन्थ्यो । दिउँसो मात्र केही समय साइकल पसलमा साइकल बनाउने काम गर्न जान्थ्यो । भाईले यसरी तन्त्रमन्त्र सिक्न थालेको १० बर्ष भइसकेको दाजु पुस्करले बताए । ‘के के किताबहरु पढिरहन्थ्यो, तन्त्रमन्त्र सिक्थ्यो,’उनले भने,‘रात के भयो, मलाई थाह भएन । बिहान किचनमा चुलेसी नभेटेपछि उसको पुजा कोठामा होला भने हेर्न जादा यस्तो देखे ।’
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक अशोक जबेगुले घटनास्थलको मुचुल्का गर्दै प्रहरीले प्रारम्भिक अनुसन्धान शुरु गरेको जानकारी दिए । देवको कर्तव्य ज्यान हो वा होइन भनेर अनुसन्धानबाट मात्र खुल्ने उनले बताए ।

IMG_2562 IMG_2558