धरान:स्ववियुको हिसाब पारदर्शी नभएको भन्दै अघिल्लो दिन लागेको ताला मंगलबार दिउँसो तोडिएपछि महेन्द्र बहुमुखी क्याम्पस, धरानमा थप तनाव बढेको छ ।

क्याम्पसमा अध्ययनरत स्वतन्त्र विद्यार्थीहरु भन्दै एक समुहले मंगलबार दिउँसो स्ववियुमा लगाएको ताला फोडेपछि क्याम्पसमा तनाव बढेको हो । अघिल्लो दिन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले स्ववियुको कार्यालयमा तालाबन्दी गरेको थियो । त्यसको विरोधमा स्वतन्त्र विद्यार्थी भनिएकाहरुले मंगलबार ताला फोडेका थिए । तर, केही बेरमा पुनः अनेरास्ववियु र अखिल क्रान्तिकारीले स्ववियुसँगै क्याम्पस प्रशासनमा पनि तालाबन्दी गरेपछि समस्या झन बढेर गएको छ । दुवै संगठनले आर्थिक प्रशासनबाहेक क्याम्पस प्रमुखको कार्यकक्षतर्फको कार्यालयमा ताला लगाएको हो ।

मंगलबार क्याम्पस प्रशासनले ताला खुलाउन छलफलको तयारी गर्दै गर्दा स्वतन्त्र विद्यार्थीको नाममा ताला फोडिएपछि परिस्थिति असामान्य बन्यो । दुवै अखिलले स्ववियु सभापतिको योजनामा स्वतन्त्र विद्यार्थीको नाममा कार्यकर्ताहरु पठाएर ताला फोडेको आरोप लगाएको छ । ‘स्ववियु सभापतिको निर्देशनमा ताला फोडियो,आफ्नो गल्तीलाई ढाकछोप गर्न ताला फोड्न लगाएका हुन्,’ अनेरास्ववियुका क्याम्पस इकाई कमिटि अध्यक्ष सुजन खत्रीले भने,‘हामीले त हिसाब पारदर्शी होस् भन्ने माग मात्र गरेका हौ, यथार्थ हिसाब देखाए भै हाल्यो नि ।’

mmc,3

स्ववियु सभापति सागर सरगम चेम्जोङले भने स्वतस्फुर्त विद्यार्थीहरुले ताला फोडेको प्रतिक्रिया दिए । ‘स्ववियु सबै विद्यार्थीहरुको हकअधिकारको लागि हो, हिसाब अपारदर्शी हो भने सार्वजनिक हुनुपर्छ तर ताला लगाउन पाइदैन भन्दै स्वतस्फुर्त विद्यार्थीहरुले ताला फोडेका हुन्,’सभापति चेम्जोङले भने,‘पछि प्रशासनमा पनि ताला लगायो भन्ने सुने, तर आधिकारिक थाह छैन ।’ क्याम्पस प्रमुख चन्द्रकुमार राईले भने छलफलको तयारी हुदै गर्दा ताला फोडिएपछि परिस्थिति बिग्रिएको बताए । पछि फेरि स्ववियु र क्याम्पस प्रशासनमा तालाबन्दी भएको उनले पुष्टि गरे । ‘छलफलको तयारी हुदै थियो, खर्च पारदर्शी गर्ने र विद्यार्थी संगठनहरुलाई आश्वास्त पार्ने भन्दाभन्दै ताला तोडियो,’क्याम्पस प्रमुख राईले भने,‘ताला फोडेपछि परिस्थिति अर्के बन्यो, पछि फेरी क्याम्पस प्रशासनमा पनि तालाबन्दी भएछ ।’

फागुन २५ गते स्ववियु सभामा प्रस्तुत भएको आर्थिक प्रतिवेदन अस्पष्ट तथा अपारदर्शी भएको भन्दै अनेरास्वयवियु र अनेरास्ववियु क्रान्तकारीले सोमबार दिउँसो स्ववियु कार्यालयमा तालाबन्दी गरेको थियो । विधानत सरोकारवालाहरुलाई पनि उपस्थित गराएर गर्नुपर्ने स्ववियु सभा सुटुक्क गरेको र त्यसमा प्रस्तुत आर्थिक प्रतिवेदन अस्पष्ट र अपारदर्शी भएको ती संगठनको आरोप छ ।

स्ववियु सभामा कुल ११ लाख ७४ हजार २ सय ५२ रुपैयाको आय र ११ लाख ७३ हजार ७ सय ९० रुपैयाको व्यय भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदनमा ६ पटक विद्यार्थीको स्वागत तथा विदाई कार्यक्रम भएको उल्लेख गरिएको छ । जसमा कुल खर्च ४ लाख ४ हजार उल्लेख छ । विद्यार्थी संगठनहरुले यही शिर्षकको कार्यक्रम र खर्चमा बढी आपत्ति जनाइरहेका छन् । यस्तै,टि सर्ट खरीद, फुटबल, बास्केटवल, पार्किङ निर्माणमा देखाइएको खर्चमा पनि विद्यार्थी संगठनहरुले प्रश्न उठाएका छन् । सभापति चेम्जोङले स्ववियुको पुर्ण आर्थिक प्रतिवेदन आउनै बाँकी रहेको बेला अनावश्यक प्रोपगण्डा गरेको बताउदै आएका छन् ।
..........................................................
बुधबार बिहान सर्वदलीय बैठक

mmc3 1

क्याम्पसको शैक्षिक वातावरण बिग्रन नदिन क्याम्पस प्रशासनले समस्या हल गर्न पहलकदमी लिएको छ । क्याम्पस प्रमुख राईले विद्यार्थी संगठनहरुबीच तनाव कम गराउन बुधबार बिहानै सर्वदलीय बैठक डाँकेका छन् । ‘मैले बिहान साढे ६ बजे नै सर्वदलीय बैठक बोलाएको छ, नगरस्तरीय दलका नेताहरुसँग बैठक बसेर समस्या हल गर्ने अधिकतम प्रयास गछौ,’क्याम्पस प्रमुख राईले भने,‘त्यसपछि लगत्तै स्ववियु र विद्यार्थी संगठनहरुसँग छलफलमा बस्छौ, भोली बुधबार जसरी पनि समस्या हल गछौ ।’

स्ववियुको हिसाब पारदर्शी नभएको बिषय उठेको हुनाले समन्वय गरेर क्याम्पस प्रशासन आफै र लेखा शाखा मिलेर भएपनि हिसाब पारदर्शी र स्पष्ट पार्न प्रयत्न गरिने प्रमुख राईको भनाई थियो । महेन्द्र क्याम्पसको स्ववियु सभापति संघीय समाजवादी पार्टीनिकट संघीय विद्यार्थीका छन् भने अन्य प्रमुख पदाधिकारीहरु नेवि संघबाट चुनिएका छन् । अखिल र अखिल क्रान्तिकारीबाट थोरै सदस्य पदमा मात्र चुनिएका छन् ।

तस्बिर स्रोत: हरि इवाहांग लिम्बूको फेसबुक