धरान: हातमा चुलेसी लिएको र घाँटी पछाडि काटिएको अवस्थामा एक युवा आफ्नै पुजा कोठामा मृत अवस्थामा भेटिएपछि मंगलबार बिहानैदेखि सनसनी फैलियो । उनको हत्या भएको वा आत्महत्या हो भन्ने अनेक अड्कलबाजी र अनुमान गरिए ।

धरान ९ स्थित आचार्य लाइनमा डेरा गरी बस्दै आएका ३० बर्षीय रितेशप्रसाद देव आफ्नै कोटामा मृत अवस्थामा थिए । घटनास्थल हेर्दा शंकास्पद थियो । चुलेसी हातमा लिएको र घाँटी पछाडि दाहिनेपट्टी चोट लागेको थियो । घटना संवेदनशील भएकोले सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारी आफै धरान आए भने १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरबाट अपराध विज्ञको टिम(ब्युरो) नै धरान आयो ।

एसपी अधिकारी र ब्युरोको टोलीले घटनास्थलको जाँच, मृतकका दुई जना दाजु र नजिकका आफन्त, वरपरका बासिन्दाहरुसँग अलग अलग वयान, सोधपुछमा बितायो । घटनास्थलमा अपराध विज्ञ, फरेन्सिक डाक्टरको टोलीले पनि अध्ययन गरे । तर, प्रहरीले देवको हत्या भएको हुनसक्ने कुनै क्लु भेटाउन सकेन । यद्यपी, प्रहरी औपचारिकरुपमा उनको हत्या भए, नभएको वा आत्महत्या गरेको निष्कर्षमा पुगिसकेको भने छैन । ‘हामी अनुसन्धानको क्रममा नै छौ । क्राइम एक्स्पर्ट, फरेन्सिक डाक्टर ल्याएर पनि घटनास्थलको जाँच गरियो,’एसपी अधिकारीले भने,‘शवलाई पोष्टमार्टममा पठाएका छौ, वयान लिने काम गर्यौ, कर्तव्य गरी हत्या भएको वा आत्महत्या गरेको भन्ने निष्कर्षमा पुगेका छैनौ ।’

माइला दाजुसँग बस्थे रितेश

मृतक रितेशसँग माइला दाजु पुस्कर पनि बस्थे । पुस्कर गत जेठमा मात्र कोरियन भाषा पढ्न धरान आएका थिए । उनीहरुको खास घर सप्तरीको राजविराज नगरपालिका १३ हो । उनीहरुको जेठा दाजु घटनास्थलभन्दा केही पश्चिममा डेरा गरी बस्थे । मृतक रितेशको साइकल मर्मत पसल थियो । तर, माइला दाई पुस्कर आएपछि उनी पसलमा कमै बस्थे । पुस्कर कोरियन भाषा पढ्ने र साइकल मर्मत पसलको रेखदेख गरेर बसिदिन्थे ।

रितेश र माइला दाजु पुस्करको कोठा आमने सामने थियो । रितेशले आफ्नै कोठालाई पुजा कोठा बनाएका थिए । उनीहरुको कोठा नजिकै एउटै कम्पाउण्ड भित्र २ जना दिदी भेना पनि डेरा गरी बसेका थिए । रितेशलाई बिहान माइला दाजु पुस्करले नै कोठामा मृत अवस्थामा देखेका थिए । उनले नै भेना र आफ्नो दाईलाई खबर गरेपछि प्रहरीमा जानकारी भएको थियो । चिया पकाएर कागती काट्न चुलेसी खोज्दा नभेटेपछि भाईको कोठामा हेर्न जादा भाई मृत अवस्थामा देखेको उनले बताए । ‘अरु बेला पनि भाईले दियोको बात्ति काट्न चुलेसी लैजान्थ्यो, आज बिहान पनि त्यही सम्झेर लिन गएको त भाईको त्यस्तो हालत देखे,’उनले भने ।

हरदम ध्यान र तपस्यामा लिन हुन्थे रितेश

प्रहरीले अनुसन्धानको क्रममा रितेशको हत्या भएको हुनसक्ने कुनै क्लु भेटेको छैन । उनका २ जना दाजु, भेना, भाञ्जाभाञ्जी र छरछिमेकसँगको अलग अलग वयानबाट पनि शंका गर्नुपर्ने क्लु भेटिएन । बरु सबैसँगको अलग अलग वयान, सोधपुछबाट एउटै निष्कर्ष आयो, मृतक देव अनौठो स्वभावका थिए । उनी अतिनै धार्मिक थिए । हरदम कोठाभित्र ध्यान, तपस्यामा लिन रहन्थे, किताबहरु पढिरहन्थे ।

मृतक रितेशका दाजुहरुका अनुसार उनी तन्त्रमन्त्रको पनि किताब पढिरहेका हुन्थे । कोठाको भित्ताभरि काली, नवदुर्गा, महादेवलगायतको तस्बिर राखेका थिए । दाजुहरुका अनुसार रितेश बिहान ३, ४ बजेदेखि नै १०, ११ बजेसम्म ध्यान, पुजापाठमा बस्थे भने दिउँसो पनि ३, ४ बजेदेखि राती १०, ११ बजेसम्म कोठाभित्र ध्यान, पुजा कर्म गरिबस्थे । रितेशले आफुले भगवानसँग साक्षात्कार गरिसकेको बताउने गरेको प्रहरीसँगको वयानमा उनका दाजुहरुले बताएका छन् । उनी विगत १० बर्षदेखि नै ध्यान, तपस्या गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

त्यति मात्र होइन, रितेश एउटा खुट्टाले डेढ, दुई घण्टासम्म उभिएर तपस्या गर्ने, कोठाभित्र दियो निभ्न नदिई चौबिसै बालिरहने जस्ता उनको अनौठो स्वभावका थियो । मान्छेहरुसँग पनि कमै बोल्ने गरेका थिए । ‘आफु भगवानसँग साक्षात्कार भइसकेकोले आफ्नो जीवनको कुनै मोह नभएको पनि दाजुहरुसँग बताउने गरेको रहेछ,’अनुसन्धान स्रोतले भन्यो,‘दाजु भाईहरुबीचमा पनि असाध्यै राम्रो सम्बन्ध, माया रहेको पायौ । कर्तव्य गरी हत्या भएको कुनै क्लु भेटिएन ।’ के त्यसो भए रितेशले आत्महत्या गरेका हुन् त ? कि आफैले आफैलाई वलि वा भोग दिएका हुन् ? अथवा भगवानको पासमा गएका हुन् ? अनुसन्धानको पाटो यतातर्फ पनि सोझिएको प्रहरी स्रोत बताउँछ । तर, एसपी अधिकारीले भने आफुहरु घटनाको अनुसन्धानको क्रममा नै रहेको बताउँछन् । 'अहिले हामी अनुसन्धानको क्रममा नै छौ, त्यसैले हत्या हो कि के हो भनेर निष्कर्षमा पुगेको छैनौ,'उनले भने ।