ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “खाद्य संस्थानका गोदाम तीन दशकदेखि अलपत्र” शीर्षकको समाचार छापिएको छ । कृषि खरिद–बिक्री संस्थानमार्फत् खाद्यान्न आपूर्ति गर्ने उद्देश्यले निर्माण गरिएका ३ ठुला भवन अहिले तीन दशकदेखि प्रयोगविहिन बनेको छ । पूर्वी पहाडी जिल्लामा खाद्यान्न सहज आपूर्तिका लागि झापाको सदरमुकाममा चन्द्रगढीमा नेपाल खाद्य संस्थानबाट स्थापना भएको खाद्य गोदाम प्रयोगविहिन बन्दा पनि सरकारले चासो दिएको छैन । तीन दशकदेखि नियमित प्रयोगमा आएको छैन । २०४४ सालतिर विर्तामोडमा खाद्य भवनसंगै कार्यालय सरेपछि चन्द्रगढीमा रहेको दुइवटा गोदाम प्रयोगविहिन बनेका हुन् । विर्तामोड सर्नुभन्दा अगाडी चन्द्रगढीमा नै कार्यालय रहेको थियो । करिब दुई बिघा क्षेत्रफलभित्र रहेका २ ठुला भवनमा खाद्य र एउटा कृषि सामग्री संस्थान रहेको छ । भवन जीर्ण बन्दै गएको अवस्था छ । छानो लगाइएका जस्तापाता पुरानो हुँदा वर्षाको समयमा पानी चुहिन थालेको छ भने झारपात उम्रिएर घिनलाग्दो देखिएको छ ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “स्थानीय तहमा छैन विद्यालय अनुगमन” शीर्षकको समाचार छापिएको छ । स्थानीय सरकारले आफ्ना स्थानीय तहभित्र रहेका सङ्घ–संस्था र विद्यालयको अनुगमन र निरिक्षण गनुपर्ने हुन्छ । तर अहिले पाँचथर जिल्लामा रहेका अधिकाँश स्थानीय तहले आर्थिक वर्षको अन्तिम चरणमा पनि विद्यालय अनुगमन गर्न सकेका छैनन् । सामुदायिक र निजी विद्यालय स्थानीय तहमा आएसंगै विद्यालयमा नियमित अनुगमन र निरीक्षण कार्य प्रभावित भएको हो । पाँचथरको कुम्याक गाउँपालिकामा पहिला शिक्षा शाखाले विद्यालय अनुगमन र निरीक्षण गर्न सकेन । पछिल्लो समयमा सरकारले श्रोत शिक्षकलाई फिर्ता बोलाएसंगैँ विद्यालयको अनुगमन र निरीक्षणका काम भएको छैन ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “घरमै थन्कियो अलैँची” शीर्षकको समाचार छापिएको छ । अलैँचीको मूल्यमा भारी ह्रास आएसंगै भोजपुर जिललाका किसान निराश बन्दैँ गएका छन् । मूल्यमा गिरावट आएपछि किसानका अलैची अहिले घरमै थन्किएको छ । आम्दानीको मुख्य आधार बनाउदैँ आएका अलैँची कृषकले विगतको तुलनामा ७० प्रतिशतभन्दा बढीले मूल्यमा गिरावट आएको बताएका छन् । मूल्य घटेपछि अहिले ठेकेदारले प्रतिमन २० देखि २५ हजारमा अलैँची माग्ने गरेकाले आफुले अहिलेसम्म पनि अलैँची बिक्री नगरेको टेम्केमैयुङ गाउँपालिका ४ नागीका जयकुमार राईले बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “हराउँदै होलीको रौनक” शीर्षकको समाचार छापिएको छ । आपसी भाइचारा र सद्भावको प्रतीकको रुपमा भनाइने होली पर्वको रौनकता हराउन थालेको छ । मिथिलाको लोक संस्कृतिसंग जोडिएको होली पर्वको परम्परागत रौनकतामा कमी आएको हो । बसन्त ऋतुको आगमनसंगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म मिथिलात्तचलका घर, गाउँटोल, छिमेकमा गाइने माधुर्य र प्रेमभावपूर्ण होली गीत गाउने चलन हराउन थालेको छ । समाजका अगुवा तथा युवाहरुले एक महिनासम्म होलीका गीत गाउँदै आएकोमा पछिल्ला एक दशकदेखि क्रमिक रुपमा कमी आएको सामाजिक अगुवा योगेन्द्र मण्डलले बताए ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा “चुम्लुङ र यायोक्खा बिच सहमति खोज्ने प्रयास” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ को पहिचानमा आधारित नामाकरणको सवालमा लिम्बुवान र किरात बिच सहमतिय साझा नामको टुंगो नलाग्दा विवाद अरु बढेर गएकाले दुवै समुदायका प्रतिनिधि मुलक संस्था किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा बिच संयुक्त छलफल आयोजना गरिने भएको छ । लिम्बुवान र किरात बिचको विवादका कारण पहिचान खुल्ने साझा नाम कठिन भएको बुझाई राजनितिक वृतमा बढेकाले दुवै पक्षको सहमतिमा साझा नामको सहमति खोज्ने प्रंयास संवाद समूहले गर्ने भएको हो । सञ्चारकर्मी तथा मध्यस्थकर्ताहरु रहेको समूहले विवादमा रहेका विषयहरु बिच सहमतिको प्रयासका लागि विवाद संग सम्बद्ध पक्षहरु संग छुट्टा छुट्टै र संयुक्त छलफल गर्दै आएको छ ।