बेलायती संसद्ले ब्रेक्जिटका विषयमा प्रधानमन्त्री टेरिजा मेले ल्याएको संशोधित मस्यौदालाई पुनः अस्वीकार गरिदिएको छ ।

यसअघि पनि प्रधानमन्त्री मे ले ल्याएको बेलायतलाई युरोपियन युनियनबाट बाहिर निकाल्ने सम्झौताको मस्यौदा संसद्ले अस्वीकृत गरिदिएको थियो । त्यसपछि संशोधन गरेर ल्याएको मस्यौदालाई संसद्ले पुनः अस्वीकृत गरिदिएपछि प्रधानमन्त्री मेलाई अप्ठेरो परेको छ ।

प्रधानमन्त्री म ले प्रस्ताव गरेको मस्यौदामा संसद्को बहुमतले अस्वीकृत गरिदिएको हो । मस्यौदाको प्रस्तावमा २ सय ४२ मत परेको थियो भने विपक्षमा ३ सय ९१ मत परेपछि प्रस्ताव अस्वीकृत भएको हो । युरोपेली संघका नेताहरुसँग निकै लामो छलफलपछि प्रधानमन्त्री मे ले आफ्नो संशोधित प्रस्ताव पारित गर्न संसद्लाई आग्रह गरेकी थिइन ।

उनले कि त प्रस्ताव पारित गर्नुहोस् कि ब्रेक्जिटलाई नै अस्वीकार गर्नुहोस् भन्दै संसद्मा आफ्नो प्रस्ताव पेश गरेकी थिइन ।