धरान (डेस्क) : साफ महिला च्याम्पियनसिपको पाचौं संस्करणमा नेपालले विजयी सुरुवात गरेको छ ।

विराटनगरस्थित शहिद रंगशालामा मङ्गलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० ले पराजित गर्दै अन्तिम ४ को यात्रा तय गरेको हो । पहिलो हाफमा २–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल थप्यो । पहिलो हाफको १३ औँ मिनेटमा मञ्जली कुमारी योञ्जनको गोलमा नेपालले बनाएको अग्रता त्यसको ४ मिनेटमा सावित्रा भण्डारीले थप गोल गर्दै दोब्बर पारिन् । खेलको ५५ औँ मिनेटमा कप्तान निरु थापाले गोल गर्दै अन्तर ३–० ले फराकिलो पारिन् । जितपछि टोलीका प्रशिक्षक हरि खड्काले नेपाली टोलीले पाएको अवसरको सदुपयोग गर्न नसेकेकाले कम अन्तरको जित हात लागेको बताए ।

भुटानसंग नेपाली टोलीले औसत प्रदर्शन गरेको भन्दै बगंलादेशसंगको खेल अझै उत्कृष्ट हुने प्रशिक्षक खड्काले बताए । साफ च्याम्पियसिपमा नेपालले भुटानलाई हराएको यो तेस्रो पटक हो । यसअघिका दुई भेटमा नेपालले भुटानलाई समान ८–० ले पराजित गरेको थियो । समुह चरणको दोस्रो खेलमा नेपालले आगामी शनिबार बगंलादेशसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा आज बुधबार समुह बी का भारत र मालदिभ्स प्रतिस्पर्धा गर्नेछन् । सार्कका ८ मध्ये ६ राष्ट्र सहभागी च्याम्पियनसिपको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले गरेका थिए ।