विराटनगर: १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुविधा सम्पन्न कार्यालय भवन निर्माण हुने भएको छ । उक्त भवनको बुधबार एक समारोहबीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका छन् ।

प्रदेश सरकारले भवनको लागि बहुबर्षीय बजेट ब्यवस्था गर्दै चाललु आर्थिक बर्ष ०७५/०७६ मा ५ करोड बजेट बिनियोजित गरेको छ । सम्झौता भएको मितिले २ बर्ष भित्रमा ५ तले सुविधा सम्पन्न भवन निर्माण गर्ने लक्ष्य राखिएको छ । यो भवन १६ हजार १ सय २१ स्क्वायर फिटमा बन्नेछ । कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री राईले प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई उपलब्ध १५ वटा चार पाङग्रे गाडी र २ सय वटा मोटरसाईकलको रिवन काटेर परिचालन शुभारम्भ समेत गरेका थिए ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय भवनको डिजाईन तयार गर्ने आर्किटेक्ट ईन्जिनियर कंचन विष्ट रानालाई सम्मान गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सुरक्षा अवस्था मजबुत नभएसम्म बिकास निर्माण अघि बढाउन नसकिने धारणा राख्दै प्रदेश सरकारले पहिलो प्राथामिकतामा सुरक्षा ब्यबस्था बलियो बनाउने नीति रहेको बताए । सुरक्षा ब्यवस्था मजबुत नभएसम्म आम नागरिकहरुले सुरक्षा प्रत्याभुती गर्न नसक्ने भन्दै मुख्यमन्त्री राईले सबैले सुरक्षाको प्रत्यक्ष अनुभूति पाउने गरी नागरिक मैत्री सुरक्षा व्यवस्थालाई अवलम्बन गरिएको पनि प्रष्ट्याए ।

pradesh-police2

आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत बहादुर कार्कीले सुरक्षा ब्यबस्था मजवुत भएमा मात्र समृद्धितर्फ अगाडि बढ्न सकिने तथ्यलाई प्रदेश सरकारले आत्मसात गरेको धारणा राखेका थिए । प्रदेश सभाका सभामुख प्रदिप कुमार भण्डारीले आम नागरिकको सुरक्षामा २४ सै घण्टा तल्लिन रहने प्रहरी कर्मचारी भौतिक रुपमा सम्पन्न हुनु पर्नेमा जोडदिए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षित वातावरण भएको अवस्थामा मत्र बिकासका कामहरु धमाधम हुने भएकोले कुनै पनि अवैध किसिमका क्रियाकलापहरु क्षम्य नहुने बताए । प्रहरीलाई सुबिधा सम्पन्न बनाउने प्रदेश सरकारको नीतिप्रति आभार प्रकट गर्दै उनले सुबिधा सम्पन्न भवन निर्माणले प्रहरी कर्मचारीहरुमा काम गर्ने थप हौसला प्रदान गरेको बताए । सुरक्षा ब्यबस्थालाई मजबुत बनाउन प्रदेश सरकारबाट आत्मियता र अबिभावकत्व पाएको भन्दै उनले बिकास निर्माण लगायतका सम्पुर्ण कार्यहरुमा आवश्यकता अनुसार सुरक्षा ब्यबस्था प्रदान गर्न निर्देशन समेत दिएका थिए । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजालले सुरक्षा पहिलो र आधारभुत सर्त रहेको बताउदै आन्तरिक शान्ति सुरक्षाको अग्र भागमा रहने नेपाल प्रहरीलाई चुस्त दुरुस्त र प्रबिधिमैत्री बनाउन भौतिक पुर्वाधार लगाएतका श्रोत साधनहरुको पनि अतिआवश्यकता रहेको बताएका थिए ।

pradesh-police9