चीनले पाकिस्तानस्थित चरमपन्थी समूह जैस–ए मोहम्मदका संस्थापक मौलाना मसूद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादीको कालो सूचीमा समावेश गर्न अस्वीकार गरेको छ ।

संयुक्तराष्ट्र संघको सुरक्षा परिषदमा अमेरिका, ब्रिटेन र फ्रान्सले मसूद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादीको कालो सूचिमा समावेश गर्न राखेको प्रस्ताव चीनले अस्वीकार गरेको हो ।

अजहरमाथि प्रतिबन्ध लगाउन राखेको प्रस्ताव अध्ययन गर्न आफूलाई थप केही समय आवश्य रहेको चीनले बताएको छ । योसँगै अजहरलाई आतंककारी घोषणा गर्न तेस्रो पटकको प्रसास पनि असफल भएको छ । यसअघि सन् २०१६ र २०१७ मा पनि अजहरमाथि प्रतिबन्ध लगाउन गरिएको प्रयासलाई चीनले रोकेको थियो ।

अजहरलाई आतंककारीको सूचीमा समावेश गरेको भए उनीमाथि यात्रा प्रतिबन्ध र उनको अन्तर्राष्ट्रिय क्षेत्रमा रहेको सम्पत्ति जफत हुने थियो । अजहरको संगठन जैस–ए–मोहम्मदले हालै भारत प्रशासित कश्मीरको पुलवामा भएको चरमपन्थी हमलाको जिम्मेदारी लिएको थियो ।

आक्रमणमा भारतका ४० सैनिकको मृत्यु भएको थियो ।