धनुषा: वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ ।

रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्य्विधि निर्माणको काम शुरु गरेको हो । त्यस्तै रेल सञ्चालनका लागि आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि शुरु गरेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । सो मार्गमा निर्माण हुने सात स्टेशनका लागि आवश्यक १५० कर्मचारीको छनोट प्रक्रिया शुरु भएको मिश्रको भनाइ छ । मिश्रले सातै स्टेशनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा सातदेखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको मिश्रले बताउनुभयो ।

मुख्य स्टेशनमा भने केही बढी कर्मचारी आवश्यक हुनाले सोहीअनुसारको कार्य्विधि निर्माणमा आफूहरु लागिपरेको मिश्रको भनाइ छ । उहाँले कुर्था र खजुरीलगायत केही स्टेशनमा बढी कर्मचारी आवश्यक भएकाले आवश्यकतानुसार कर्मचारी परिचालन गरिने बताए । विभागले सो मार्गमा रेल सञ्चालनका लागि भारतबाट दुई रेल खरीद गर्ने जनाएको छ । रेल खरीदको प्रक्रिया पनि अन्तिम चरणमा पुगिसकेको मिश्रले बताए । मुलुककै एक मात्र रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा नेपालमा रहेको न्यारोगेज रेलको कोइला इञ्जिन भने संरक्षणको अभावमा कबाडीमा परिणत हुँदै गएको छ ।

जनकपुर–जयनगर रेल्वे ब्रोडगेज निर्माणको क्रमसँगै पुराना इञ्जिन, बोगी र अन्य महत्वपूर्ण पार्टपूर्जा संरक्षणका अभावमा घाम र पानीले खिया लागिरहेको छ । नेपाल रेल्वेको विघटन भएपछि सरकारले ती सम्पत्तिको संरक्षणका लागि १६ कर्मचारी खटाए पनि उनीहरूले संरक्षणमा चासो नदिँदा इञ्जिनका पार्टपूर्जादेखि कारखानामा रहेका अन्य सामग्रीसमेत चोरी भएका छन् । जनकपुरबाट करिब १५ किमी दूरीमा रहेको वैदेही गाउँपालिकास्थित खजुरी स्टेहनमा नेपाल रेल्वेको कारखानामा थन्क्याइएका ब्रह्मा, विष्णु, रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीरका नामले चिनिने इञ्जिन संरक्षण भएको छैन ।