धरान: धरान–१५ स्थित मदनआश्रीत मार्गका बम बहादुर खड्काको कुखुराको फर्ममा आगलागीले ध्वस्त भएको छ । आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति पुगेको पीडितले जनाएका छन् ।

खड्काको कुखुरा फर्ममा आज बिहिबार मध्याह्न अचानक आगलागी भएको थियो । खड्काको घर पछाडी रहेको फर्म जलेर नष्ट भएको छ । आगलागीबाट काठले बारेको र टिनले छाएको फर्म जलेर नष्ट भएको छ । यस्तै, १४ वटा बोइलर कुखुरा, एउटा कुकुर, कुराको चारो, पराल,प्लाष्टिकको ड्रम हजार लिटरको २ थान र ५ सय लिटरको २ थान पनि जलेर नष्ट भएको छ ।

यस्तै, खड्काको फर्मसँगै दुई तल्लाको पक्की घरको ढोका जलेको छ भने छिमेकी पदम माया श्रेष्ठको घरको फ्यालको सिसा पनि फुटेको छ । आगलागीको समयमा घरधनी खड्का श्रीमतीसहित इटहरी गएका थिए । आगलागी कसरी भयो भन्ने खुल्न सकेको छैन । ‘श्रीमती र म इटहरी गएर आउदै थियौं, तिनकुनेमा आउँदा आगोको धुँवा देख्यौैं कस्को कहाँ के भयो भन्ने लाग्यो,’उनले भने,‘घर आउँदा त मेरो कुखुरा फर्ममा पो आगो लागेको रैछ, म आउदा पूरै डढिसकेको थियो ।’

S7670006

आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको उनले प्रहरीलाई जानकारी गराएका छन् । विगतमा बोइलर कुखुरा पाल्दै आएपनि अहिले भने बाहिरबाट खरीद गरेर ल्याएर सप्लाइमात्र गदै आएको उनकी आमाले बताइन् । ‘पहिला चै यही पाल्थ्यौं, अहिले विस्तार छोड्दै गएको थियो, केही कुकुरा राख्थ्यो,’उनले भनिन् । खड्काकी आमा लक्ष्मीमायाका अनुसार आगोलागी फर्मको उत्तर पटिको भागबाट शुरु भएको थियो । घरबाट नजिकै गाइबस्तुको लागि खोले बोकेर जाने क्रममा एक्कासी बुहारीले आगो लागेको भन्दै चिच्याएपछि थाह पाएको बताइन् । ‘म त गाइबस्तुलाई कुडो बोकेर दिन जादै थिएँ, दाजुको ग्वालीमा आगो लाग्यो भनिन्, फर्केर हेर्दा २ जना साना केटाकेटी भागेको देखे,’ उनले भनिन्‘त्यसपछि मान्छे बोलाउन तिर लागे, हेर्दाहेदै ग्लाली सखाप भयो ।’

S7670011

अर्का प्रत्यक्षदर्शी कृष्ण विष्टका अनुसार फर्मको उत्तर पटिको भागबाट आगो लाग्न शुरु भएको थियो । आगो लाग्न शुरु भएको करिब २० मिनेटमा पूरै खरानी भएको उनले बताए । ‘आगो लाग्न शुरु भएको २० मिनेटमै सबै खरानी भयो, हामीले फर्मलाई जोगाउन सकेनौं,’उनले भने।‘तर, वरीपरीको घरमा सर्न दिएनौं, जे होस आज बन्दको दिन भएकोले मान्छे सबै घरमा थियौ, धेरैबाट साथ सहयोगले आगो फैलिन पाएन ।’आगलागी भएको फर्मसँगै खड्को घर, छिमेकमा काठको घर थियो । सबैको प्रयासमा नियन्त्रण नभएको भए आगलागीले ती घरहरुलाई पनि क्षति पुग्नसक्थ्यो । आगो नियन्त्रण गर्न धरान उपमहानगरपालिकाको ४ वटा दमकल र इटहरीबाट एउटा दमकल आएको थियो । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा करिब २ घण्टाको प्रयास पछि आगो नियन्त्रणमा आएको विष्टले बताए ।