धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.राजकुमार रौनियार औपचारिकरुपमा पदमुक्त भएका छन् ।

सिनेटको ४२ औं बैठकले उनलाई बर्खास्त गर्ने गरेको निर्णयलाई कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सदर गरेपछि उपकुलपति रौनियार पदमुक्त भएका हुन् । सिनेटको निर्णय वमोजिम उपकुलपति रौनियारलाई बर्खास्त गर्न स्वास्थ्य मन्त्रालयले अन्तिम निर्णयको लागि कुलपति तथा प्रधानमन्त्री ओली समक्ष पठाएको थियो । उक्त निर्णय सदर भएको जानकारी आज प्रधानमन्त्री कार्यालयबाट स्वास्थ्य मन्त्रालयमा आएको छ ।

सिनेटको निर्णय सदर भएको पत्र आज मन्त्रालयमा आएपनि फागुन २६ गते नै सदर भएको स्वास्थ्य मन्त्री यादवका स्वकिय सचिव महेश चौरासियाले जानकारी दिए । उनले भने,‘मन्त्रालयमा सिनेटको निर्णय सदर भएको पत्र आज पायौ, तर कुलपति ज्युले २६ गते नै सदर गरिसक्नु भएको रहेछ ।’ उपकुलपतिलाई पदबाट हटाइएको जानकारी पत्र मन्त्रालयले प्रतिष्ठानमा पठाउने तयारी गरिरहेको पनि उनले बताए ।

फागुन १६ र १७ गते बालुटवारमा बसेको सिनेट बैठकले उपकुलपति रौनियारलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । पदीय मर्यादा विपरीत काम गरेको आरोपमा उनलाई बर्खास्त गर्ने निर्णय भएको बताइएको छ । उक्त निर्णय सदरको लागि मन्त्रालयले कुलपति तथा प्रधानमन्त्री कार्यालयमा पठाएको थियो । निर्णय सदर हुन ढिलाई हुदा प्रतिष्ठानमा अन्यौलतासँगै गुटबन्दी सृर्जना भएको थियो ।