धरान:वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४२ औं सिनेट बैठकले उपकुलपति पदबाट डा.राजकुमार रौनियारलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । सिनेट बैठक फागनु १६ र १७ गते बालुवाटारमा बसेको थियो ।

सहकुलपति एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले कुलपतिको निर्देशन अनुसार फागुन १६ गतेलाई सिनेट बैठक बोलाएका थिए । तर, ताप्लेजुङमा हेलिकप्टर दुर्घटनमा मन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएपछि सरकारले १६ गते सार्वजनिक विदा दिएको थियो । त्यसदिन सिनेट बैठकले मन्त्री अधिकारीसहित मृत्यु भएकाहरुप्रति शोक प्रस्ताव पारित गर्दै भोलीपल्ट(१७ गते)लाई सिनेट बैठक सर्यो । भोलीपल्ट बसेको सिनेट बैठकले छानबिन समितिको प्रतिवेदनले पद अनुसार दायित्व पुरा नगरेको भन्दै बर्खास्त गर्न कुलपतिमा प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

सिनेट बैठको उक्त निर्णय फागुन १९ गते नै कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सदर गर्न पठाए पनि झण्डै २ सातासम्म प्रधानमन्त्री कार्यालयबाट प्रतिउत्तर स्वास्थ्य मनत्रालयले पाएन । जसले गर्दा सिनेटको निर्णय अब के होला भन्ने चासो र अन्यौलता सृर्जना भएको थियो । प्रतिष्ठानमा रौनियारलाई कुलपति मान्ने कि नमान्ने भन्ने द्धिविधा र गुटबन्दी पनि सृर्जना हुन थालेको थियो । तर, आज बिहिबार कुलपति तथा प्रधानमन्त्री कार्यालयबाट सिनेट निर्णय सदर भएको लिखित जानकारी स्वास्थ्यमन्त्रालयमा पुग्यो । उक्त पत्र आएलगत्तै मन्त्री यादवले पनि उपकुलति पदबाट हराएको जानकारी प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारलाई पठाएका थिए । मन्त्रालयले आज पत्र पाए पनि कुलपतिले २६ गते नै निर्णय सदर गरेको उल्लेख थियो ।

के छ मन्त्री यादवले पठाएको पत्रमा ?

मन्त्री यादवले पदमुक्त गरिएका उपकुलपति डा. राजकुमार रौनियारलाई पठाएको पत्रमा २०७५ भदौ १८ गते कुलपति समक्ष रौनियारले पद अनुसारको दायित्व पुरा नगरेको भन्दै सञ्चालक परिषदका एक चौथाई सदस्यहरुले प्रतिष्ठानको ऐन २०४९ को दफा ११ घ.(१) वमोजिम निवेदन दिएको र कुलपतिले असोज ५ गते सहकुलपतिको अध्यक्षतामा सञ्चालक परिषदका दुई जना सदस्यहरु रहेको छानबिन समिति गठन गरेको उल्लेख छ ।

Letter 1

उक्त समितिले छानबिन गरी कार्तिक २० गते प्रधानमन्त्री तथा कुलपति समक्ष प्रतिवेदन पेश गरेकोमा कुलपतिबाट सहकुलपतिलाई सञ्चालक परिषद(सिनेट)मा पेश गरी निर्णय लिनु भन्ने २०७५ कार्तिक २० गते लिखित निर्देशन दिएको पत्रमा उल्लेख छ । सोही निर्देशन अनुसार फागुन १६ र १७ गते बसेको ४२ औं सिनेट बैठकमा प्रतिवेदन उपर छलफल हुदा उपकुलपति रौनियारले पद अनुसारको दायित्व पुरा नगरेको देखिएकोले पदबाट हटाउन कुलपति समक्ष प्रस्ताव गर्ने भनि सिनेट बैठकमा उपस्थित सम्पुर्ण सदस्यहरुको सर्वसम्मतिबाट पारित प्रस्ताव कुलपति समक्ष पेश भएको पत्रमा उल्लेख छ । उक्त प्रस्ताव कुलपतिमा पेश हुदा प्रतिष्ठानको ऐन २०४९ को दफा ११ घ (३) वमोजिम उपकुलपतिको पदबाट हटाउने भनि २०७५ फागुन २६ गते प्रधानमन्त्री एवं कुलपतिबाट निर्णय भई आएको हुदा उक्त मितिबाट नै लागु हुनेगरी रौनियारलाई उपकुलपतिबाट हटाइएको पत्रमा उल्लेख छ ।