ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “मन्त्रीको गृहनगरमा एउटै पोखरीलाई तीन शीर्षकमा बजेट” शीर्षकको समाचार छापिएको छ । बजेट अभावमा धेरै योजनाहरु अघि बढ्न सकेका छैनन् । तर झापाको गौरादह पोखरीका लागि प्रदेश सरकारले एकै आर्थिक वर्षमा एउटै कामका लागि तीन शीर्षकमा बजेट विनियोजन गरेको छ । गौरादह नगरपालिकामा रहेको पोखरीका लागि चालु आर्थिक वर्षमै पोखरी व्यवस्थापन, गौरादह ऐतिहासिक पर्यटकीय पोखरीको पूर्वाधार निर्माण शीर्षकमा एक÷एक करोड गरी जम्मा तीन करोड रुपैयाँ विनियोजन गरेको पाइएको छ । एक नम्बर प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको गृह नगर तथा निर्वाचन क्षेत्र समेत रहेकोले प्रदेश सरकारले एउटै कामका लागि ३ वटा शीर्षकमा बजेट विनियोजन गरेका हुन सक्ने स्थानीयहरुको भनाइ छ । गौराहदह नगरपालिकाका वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी एउटै कामका लागि तीन शीर्षकमा बजेट विनियोजन भएपछि पोखरीको व्यवस्थापन र संरक्षण गर्न सहज भएको बताउँछन् ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स देनिकमा “जेलबाट छुटेर पुनः अपराधमा” शीर्षकमा अर्को समाचार पनि छापिएको छ । सरकारले नै कारागारहरुलाई सुधारगृहका रुपमा विकास गर्ने नीति लिएको छ । त्यसैले पनि कुनै अपराध गरेर जेल सजाए पाएको व्यक्ति कैद भुक्तान गरेपछि सुध्रिन्छ भन्ने मान्यता राखिन्छ । विराटनगर ३ का २९ वर्षीय विजय दाहालले भने कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेल बसेर फर्किदा पनि छाडेनन् । कैद भुक्तान गरी बाहिर आएको दुई वर्ष वित्न नपाउँदै उनी विराटनगरमा नक्कली प्रहरी बनेर अवैध रुपमा पैसा असुली गरेको अभियोगमा पक्राउ परेका छन् । आफुलाई ‘आफुलाई सादा पोशाकमा खटिएको प्रहरी’ भनेर चिनाउँदै व्यापारीहरुबाट पैसा असुलिरहेका बेला उनी पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । दाहालले विरटनगर ३ भट्टाचौक स्थित श्रम कार्यालयको गेट अगाडी पाथीभरा फोटोकपी सेन्टर सञ्चालन गरी बस्ने ४० वर्षीय भेषबहादुर पोखरेलसंग रकम लिदा लिदै प्रहरीले पक्राउ गरेको हो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “परिक्रमामा सिलिण्डर विस्फोट” शीर्षकको समाचार छापिएको छ । मिथिला माध्यमिक परिक्रमाको ८ औँ दिन कञ्चनवनमा विश्राम गरी फर्किने दिन विश्रामस्थलमा ग्याँस सिलिण्डर विस्फोट भएको छ । मिथिला पक्रिमा अन्तर्गत ७ औँ दिन रङ र अबिर दलेर कञ्चनवनमा होली खेलि श्रद्धालु भक्तजनहरु प्रस्थान गरिरहँदा ग्याँस सिलिण्डर विस्फोट भएको हो । विहीबार विहान विश्रामस्थल कञ्चनवनमा बेलुन बेच्ने ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “महंगो निर्वाचन प्रणाली हानिकारक” शीर्षकको समाचार छापिएको छ । पूर्व सांसदहरुले विद्यमान निर्वाचन प्रणाली अत्यन्तै महंगो र त्रूटिपूर्ण भएको टिप्पणी गरेका छन् । वडा तहको निर्वाचनमा पनि करोड रुपैयाँ खर्च हुने गरेको र त्यसको परिणाम लोकतन्त्रलाई झन कमजोर बनाएको दावी गरे । बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पूर्व सांसद मञ्चका केन्द्रिय उपाध्यक्ष घनेन्द्र बस्नेतले निर्वाचन प्रणाली निरन्तर मंहगिनु नागरिकका लागि हानिकारक भएको बताए । ‘आन्दोलनबाट राजनीतिक क्षेत्रमा आएको परिवर्तनलाइृ स्थायी बनाउनु छ, मुस्किलले संविधान बन्यो, कार्यान्वयनमा अझै समस्या देखिन्छ’ उनले भने–‘सबैभन्दा खडकिएको कुरा निर्वाचन रहेछ, अकुत सम्पतिवाला, २ नम्बरी र कालोधन्दावालाले मात्रै लड्न सक्नेजस्तो भएको छ ।’

पूर्वी बजार : आजको पूर्वी बजार दैनिकमा “वचन आउँछ, सहयोग आउँदैन” शीर्षकको समाचार छापिएको छ । क्याम्पस सञ्चालनका लागि सहयोग सङ्कलन गर्न २०७२ सालमा धनकुटाको सिधुँवामा रहेको सरस्वती माविले आयोजना गरेको पुराणमा ३९ लाख रुपैयाँ नगद र ४१ रोपनी जग्गा सहयोग गर्ने प्रतिवद्धता आयो । विद्यालयका शिक्षक–कर्मचारीको तलबबाट विद्यालयको सहयोगका लागि भन्दै २६ हजार रुपैयाँसम्म काटियो । अभिभावक र स्थानीयले पनि गाँस काटेरै विद्यालयका नाममा यथाशक्य रकम र जिन्सी जम्मा गरे । स्थानीय स्तरमा चिनिएकाहरुले ठुलोठुलो रकमको सहयोगको ठुलोठुलो प्रतिवद्धता गरे । तर, सामाजिक प्रतिष्ठा आर्जनका लागि दान दातव्य र सहयोगका ठुला प्रतिवद्धता गर्ने समाजका ठूलाबडा र प्रतिष्ठितले नै वचन पूरा गरेनन् ।