मुम्बई : भारतको मुम्बईमा एउटा आकाशे पुल भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

मुम्बई रेल स्टेसन नजिकै पैदलयात्रीका लागि बनाइएको पुल अकस्मात भत्किँदा अन्य ३० जनाभन्दा बढी घाइते भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

छत्रपति शिवासी स्टेसनको पुल बिहीबार स्थानीय समयअनुसार साँझ ७ः३० बजे भाँचिएको हो । प्रत्यक्षदर्शीका अनुसार बिहीबार दिउँसो सो पुल मर्मत भएको थियो ।

भारतको वाराणसीमा एक वर्षअघि यस्तै पुल भत्किँदा १८ जनाको मृत्यु भएको थियो । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुल भाँचिएर मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नभिसले दुर्घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न निर्देशन दिएका छन् ।