नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने आबद्ध रहेको दिल्ली क्यापिटल (दिल्ली डेयरडेभिल्स)ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पुर्व भारतीय कप्तान शौरभ गांगुलीलाई जारी सिजनका लागि टिमको सल्लाहकारमा नियुक्त गरेको छ ।

गांगुलीले टिमका प्रमुख प्रशिक्षक रिकी पोन्टीङसगको समन्वय गरेर टिमका लागि काम गर्ने छन् । कोलकता नाइटराइड्र्सका पुर्व कप्तान गांगुलीले दिल्लीसँग जोडिन पाउनु आफ्नो लागि खुसीको खबर भएको बताए । गांगुली १९९९ देखी २००५ सम्म राष्ट्रिय टिमको कप्तान रहेका थिए । उनले १४६ एकदिवसीय खेलको कप्तानी गरे भने २००० देखी २००५ सम्म ४९ टेस्टको समेत कप्तानको भुमिका निभाएका थिए। त्यस्तै उनले क्लब करिअरमा पनि कप्तानी भुमिका निभाएका छन्। गांगुलीले २००८ देखी २०१२ सम्म आईपिएलमा ५९ खेलमा २५.४५ को औसतमा १३४९ रन बनाएका थिए। यस दौरान उनले ९१ रनको उच्च ब्यक्तिगत इनिङ खेलेका थिए। उनले १० विकेट समेत आफ्नो नाममा पारेका थिए ।

गांगुली २००८ देखी २०१० सम्म कोलकता नाइटराइडर्सको कप्तान बनेका थिए, भने त्यसपछि तत्कालीन पुणे वारियर्सको पनि कप्तानको जिम्मेवारी पाएका थिए। गांगुलीलाई टिममा जोड्न पाउँदा दिल्लीका चियरम्यान पार्थ जिन्दाल मख्ख परेका छन्। उनले गांगुली आबद्ध भएपछि भने ‘शौरभ विश्व क्रिकेटका सर्वा्धिक बुद्धिमान खेलाडी मध्येमा एक थिए। भारतीय क्रिकेट अहिले जहाँ छ त्यसको देन गांगुलीलाई जान्छ। उनको आक्रामक, सकरात्मक र कहिले नहार्ने बानिले टिमलाई फाइदा पुग्ने छ।’