धरान:सर्दु खोला किनारका प्रभावित बासिन्दाहरुले धरान उपमहानगरपालिका घेराउ गरेका छन् । बस्तीलाई जोखिममा पार्ने गरी उपमहागनरले नदीजन्य पदार्थ झिक्न खोला ठेक्का लगाउन लागेको भन्दै विरोधमा स्थानीयबासीहरुले घेराउ गरेका हुन् ।

आज बिहान साढे ९ बजेदेखि नै भेला भएर प्रभावित बस्तीबासीहरुले उपमहानगपालिका मुल गेटअघि धर्ना र घेराउ गरिरहेका छन् । सर्दु खोला सरोकार संरक्षण समिति गठन गरेका स्थानीयबासीहरुले आज २ बजेसम्म धर्नालाई निरन्तरता दिने बताएका छन् । वडा नं १६, १३, ११, १७ र २० भएर बग्ने सर्दु खोलाको किनारामा थुप्रै सुकुम्बासी बस्ती बसेको छ । ती बस्तीहरुलाई बर्खामा जोखिममा पार्ने गरी उपमहानगरले खोला ठेक्का लगाएकोले विरोधमा उत्रिनु परेको सरोकार समितिका संयोजक सुर्दशन श्रेष्ठले बताए ।

टेण्डरको फारम भर्ने अन्तिम म्याद आज १२ बजेसम्म छ भने आजै टेण्डर खोल्ने उपमहानगरको तयारी छ । यता, सरोकार समितिले भने टेण्डर आह्वान रद्द गरेर सरोकारवाला बस्ती, सामुदायिक वनहरुसँग परामर्श गरेर मात्र टेण्डर गर्नुपर्ने माग गरेको छ । साथै, टेण्डर गर्नुअघि खोलामा तटबन्ध गरेर बस्तीलाई जोगाउनु पर्ने पनि समितिको माग छ ।

nagarpalika-gherauuu

उपमहानगरले आइइइ गरेर नै प्रतिवेदनको आधारमा टेण्डर आह्वान गरेको जनाएको छ । प्रतिवेदनमा ३० मिटर चौडाई र डेढ मिटरसम्म गहिराईमा नदीजन्य पदार्थ निकाल्न सक्ने उल्लेख छ । साथै, मेशिन लगाउन पाउने पनि बताएको छ । तर, सरोकार समितिले भने विगतमा धरान चतराको सडकमा पर्ने(हाल निर्माणाधिन पुल)भन्दा दक्षिणमा मात्र टेण्डर लाग्दै आएकोमा अहिले धेरै माथिल्लो चुरे क्षेत्रमा पनि टेण्डर गरेको भन्दै आपत्ति जनाएको छ । त्यसरी ढुंगा,गिटी निकालेर लैजादा वस्ती जोगाउन लगाइएको अस्थायी तटबन्ध भत्काउने स्थानीयको चिन्ता छ । 

वार्तामा बोलायो

यसैबीच, धरान उपमहानगरपालिकाले सरोकार समितिलाई बार्तामा बोलाएको छ । कार्यालय खुलेदेखि नै मुलगेट अघि धर्ना र घेराउसँगै नाराबाजी हुन थालेपछि अहिले सरोकार समिति नेतृत्वलाई वार्तामा बोलाएको हो । ‘उपमहानगरबाट छलफलको लागि बोलाएको छ, हामी भित्र वार्तामा जाने तयारीमा छौ,’सरोकार समिति संयोजक श्रेष्ठले भने ।