धरान (डेस्क) : माल्दिभ्सलाई पराजित गर्दै श्रीलंका विराटनगरमा जारी पाँचौ साफ वुमेन्स च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

माल्दिभ्सको हारले भारतले पनि एक खेल अगावै अन्तिम चारमा स्थान पक्का ग¥यो । लगातारको हारले माल्दिम्भ भने लिग चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा माल्दिभ्स भारतसँग ६–० ले पराजित भएको थियो । समुह बीको विजेता पर्सि हुने भारत र श्रीलंकाबीचको खेलको नतिजाले टुंगो लगाउनेछ । विराटनगरस्थित शहिद रंगशालामा समुह बी अन्तरगतको खेलमा श्रीलंकाले माल्दिभ्सलाई २–० ले पराजित ग¥यो ।

खेल अवधिभर माल्दिभ्सलाई दवावमा राखेको श्रीलंकाले पहिलो हाफको ४० औं मिनेटमा चलिनी कुमारी इकानायाकेको गोलबाट अग्रता बनाएको थियो । दोस्रो हाफको सुरुवात मै चलिनीले नै व्यक्तिगत दोस्रो गोल गरेपछि श्रीलंका २–० को अग्रता बनाउन सफल भयो । प्रतियोगितामा भोली शनिबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । भोली शनिबारको नतिजाले समुह ए को विजेता र उपविजेताको टुंगो लाग्नेछ । दुवै खेलमा पराजित भुटान समुहचरणबाटै बाहिरिसकेको छ ।
शनिबारको खेल निकै रोचक हुने अनुमान गरिएको छ ।